विक्रम संवत लाई वि. स. बाट विष बनाउने प्रपञ्चको पर्दाफास।

विक्रम संवत लाई वि. स. बाट विष बनाउने प्रपञ्च चल्दैछ। इसाईहरूको संवत जिससको जन्म संगै तयार पारिएको इस्वी संवतलाई नेपालमा लाद्ने षड्यन्त्र चल्दैछ। हरेक वर्ष बाबुराम भट्टराई नेपाल राष्ट्रका कट्टर विरोधीको रुपमा आफ्नो नेपाल सिध्याउने मिसन(उद्देश्य) अझै बाँकी छ भन्दै आफ्ना विदेशी मालिक(आका) हरु सामु बफादारीको सगुन टक्र्याउँछन्। कहिले राष्ट्रिय पोशाक खारेज हुन्छ त कहिले उनको श्रीमतिबाट नेपाल राष्ट्रलाई खारेज गरौ भन्ने वाक्य उजागर हुन्छ, त कहिले उनीहरुद्वारा सामूहिक रूपमा, "विक्रम संवत हटाएर इस्वी संवत लागु गरौँ "। भन्ने अभिव्यक्ति आउँछ। जनता समाजवादी पार्टीको नाममा खुलेको इन्डो-पश्चिमाको हड्डीमा कुर्लने, देश टुक्राउने, राष्ट्र विघटन गर्ने झुण्डहरु यही प्रपञ्च स्थापित गर्न लागिपरेको देखिन्छ। आङ्-काजि नाम गरेका अर्का राष्ट्र बिरोधि तत्त्व समाज भाँड्ने, हिंशा फैलाउने, जात जाति लडाउने र गोरु जुधाई जस्तो रमिता हेर्ने उद्देश्य सहित विदेशी मालिकले दिएको आदेश बमोजिम कहिले एकता दिवस त कहिले दशैं तिहार त कहिले नयाँ वर्षको उपलक्षमा आफ्नो वफादारी झल्काउँछन्। अब विषय तर्फ प्रस्थान गरौँ।

विक्रम संवत नेपाली माटो मै उत्पन्न भएको संवत हो। 

विक्रमादित्य भन्ने नाम गरेको राजा इंडिया मात्र होइन नेपालमा पनि भएको कुरा पुष्टि भइसकेको छ। जस्तै राम नाम गरेको मान्छे धेरै ठाउँमा भेटिन्छ त्यस्तै भनेर बुझ्दा हुन्छ। अहिले त इसाईकरणले गर्दा डेविड, थोमस आदि नाम पनि संसारको धेरै देशमा छन्। त्यस्तै विक्रमादित्य नाम गरेका राजा उज्जैन मा मात्र होइन नेपालमण्डलमा पनि रहेको तथ्य खुल्न आएको छ। बत्तीसपुतलीमा गरिएको पुरातात्विक अध्ययन अनुसार त्यँहा विक्रमादित्य सम्बन्धि अभिलेख फेला परेको छ। यो नै विक्रमआदित्य नाम गरेको राजा नेपालमा रहेको कुराको सबुत बन्न सक्छ। हुन त विक्रम आदित्य एक पदवी; श्री १००८ भने जस्तै, मौसुफ भने जस्तै पनि होकी भन्ने तर्क पनि आएका छन्। शब्दको विग्रह गर्दा विक्रम भनेको प्रतापी/कर्मरत हुन्छ, आदित्य भनेको सुर्य हुन्छ। सुर्य जस्तै प्रतापी/कर्मरत भनेर राजा महाराजालाई गरिएको सम्मान, उपादी पनि हुन सक्छ। तै पनि बत्तीसपुतलीमा फेला परेको अभिलेखले विक्रमादित्य नेपालकै राजा भन्न सकिन्छ। इतिहासकार दिनेशराज पन्तले साँखुका राजा नै पछि विक्रमादित्य नामले परिचित भै बत्तीसपुतली बाट राज्य चलाएको कुरा उल्लेख गर्नु भएको छ। 

नेपालको ईतिहासविद, भाषाविद, पुरातात्विकविद, योगी नरहरिनाथले नेपालको नेपाल सापेक्ष ईतिहास संकलन, लेखन, खोज अनुसन्धानमा आफ्नो पूर्ण जीवन अर्पण गर्नु भयो। योगी जीले समेत “श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः” भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा सिंहासन भेटिएको र त्यो सिंहासनमा बत्तीसवटा पुतली थिए र त्यही भेटिएको स्थानलाई नै आज बत्तिसपुतली भनिएको हो भनेर उल्लेख गरेका छन्। यी विक्रमादित्य नै लिच्छवि राजा भूमीवर्मा भएको र यिनको राजधानी विशालनगरमा भएको एतिहाँसिक तथ्य छ । त्यस्तै भाषा वंशावलीले विक्रमादित्य राजाले बज्रयोगिनीवाट पारसमणिसहित आशिर्वाद प्राप्त गरी नारायणहिटी स्थापित गरेको उल्लेख दीर्घराज प्रसाईंले “विक्रम सम्बतको इतिहास” मा स्पष्ट पार्नु भएको छ। ईतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ, जुन समय ई.पू. ५८ वर्षमा यो संवत् उठान भएको थियो । त्यसबेला भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व नदेखिएको हुदा र उज्जयनीमा उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिन्ह नभेटिएको हुदा विक्रम संवत् हिमवत्खण्ड नेपालको आदि र मौलिक संवत् भएको पुष्टि हुन्छ। यो सम्बत् नेपालको मौलिक सम्बत् हो र यसले कहिल्यै कुनै पनि प्रकारको औपनिवेसिक प्रभाव भोग्नु परेन। त्यसैले विक्रम संवत् नेपालको गौरवमय पहिचान हो। (प्रवीण अधिकारी

इंडियाले नेपालको नेपाल सापेक्ष ईतिहास नामेट् गर्न धेरै षड्यन्त्र गरि सकेको छ। योगी जी ले संकलन गरेको सबै ऐतिहासिक दस्तावेजमा, ईन्डियाले डकैत गरेको सबै सांस्कृतिक, धार्मिक, तिर्थस्थलको पोल खुल्ने भएकाले, ती सबै जलाउने, पानीले गलाउने काम भए। विक्रमादित्य पनि उज्जैनको हो भनेर अर्को इन्डियन डकैत प्रपञ्च चल्दै छ भने, इन्डो पश्चिमा दलालहरु त्यसमा जोडतोडले परिचालित छन्। नेपाली राजा विक्रमादित्यको पालाबाट विक्रमसंवत् सुरुभएको भन्ने आधारहरु नेपालका विज्ञहरुले पुष्टि गरिसकेका छन्। तैपनि नेपालबाट नेपालको आफ्नै नेपालीपन, अद्वितीय(युनिक) पहिचानमा किन बारम्बार धावा बोल्दै छन् विदेशीका मतियारहरु ? अहिले लगभग सारा संसारका देशमा भन्दा आफुमा पृथकता देखाएर आफ्नो अलग नाम/पहिचान बनाउने जमाना छ। नेपाललाई आफ्नो मौलिक पहिचान दिने, बनाउन सक्ने विक्रम संवतलाई खारेज गर्न बिदेशी संस्कारका हिमायतीहरु लागि परेका छन्। सबै नेपाली समयमै सतर्क रहन जरूरी छ।

सम्पूर्ण नेपालीमा आग्रह

विक्रमसंवत् नेपालकै हो। येलेसंवत (किराँत राजा यलम्बर बाट) पनि नेपालको हो। शंखधर साख्वा: बाट चलिआएको नेपाल संवत पनि नेपालको हो। नेपालकै बौद्ध संवत पनि नेपालकै हो। हिमाली/पहाडी भूभागमा मनाउने सोनाम ल्होसार ग्याल्पो ल्होसार पनि नेपालकै हो। विक्रमसंवत् प्रचलनमा रही आएको छ। यसलाई राष्ट्रिय क्यालेन्डर(पात्र)मा धेरै अघि बाट नै मानि आएकाले यसको निरन्तरता नै उचित होला। तर हरेक स्थानीय तहमा आफ्नो संस्कृतिको संवतहरु पनि प्रचलनमा ल्याउन जरुरी छ। हरेक वडा नगरपालिकामा आफ्नो स्थानीय वाहुल्यता अनुसार नेपाली बाहेक त्यहिको अर्को भाषा एवं सोहि अनुरुपको संवतलाई पनि लेटरहेड(पत्रशीर्ष)मा लेख्ने गरौँ। सरकारी अभिलेखहरु नेपाली लगायत स्थानीय बाहुल्यता रहेको भाषामा पनि सम्प्रेषण गरौँ। झगडा फैलाउने मात्र काम गर्ने विभिन्न जातका, संस्कृतिका नाममा खुलेको संगठनले आफ्नो संस्कार अनुसारको महिना, दिन, गतेलाई अभिनिर्माण गरि पात्र प्रकाशन गर्ने गरौँ। सर्वैकत्त्व दर्शनले कसैको पनि अस्तित्व नामेट पार्न हुन्न भन्ने कुरालाई जोड दिन्छ र हामी नेपालीको रगतमा सर्वैकत्त्व बहन्छ। 

नव वर्ष

ऋतु अनुसार पनि अहिलेको मौसम साह्रै राम्रो हुन्छ। प्रकृतिले पनि वर्षको चक्र अहिले नै परिवर्तन गर्छ। यसको साक्षी हरियो पालुवा, फुल, पुतली, चरा चुरुंगीको गीत हुन्। नेवाः समुदायमा पनि बिस्काः जात्राले यहि कुरा बोकेको छ। नेपाल सापेक्ष सोध अनुसन्धानका विशिष्ट व्यक्तित्व डा पुरुषोतम लोचन श्रेष्ठका अनुसार बिस्काः जात्रामा बैसाख १ गते लिङ्गो ढालेर पुरानो/ नकारात्मकताको अन्त्य संगै नव सकारात्मक उर्जा आरम्भको कामना गरिन्छ। 

हामीले जनगणना २०७८मा निहित षड्यन्त्र भन्ने लेखमा नेपाल बचाउने हो भने नेपालको आफ्नै अद्वितीय पहिचानहरूलाई निरन्तरता दिन, संरक्षण गर्न र खोज अनुसन्धान गरेर अगाडि ल्याउन जरुरी छ भन्ने कुरा बताएका थियौं। सबै नेपालीहरु नेपाल बचाउने यस अभियानमा स्वत:स्फूर्त रुपमा लाग्नु पर्ने आवश्यकता छ। नेपालको अद्वितीय पहिचान हरेक धर्म संस्कार, संस्कृति, भाषा, लिपि, परम्परा, पुजा, अनुष्ठान पद्दति जुन अन्यत्र कुनै पनि देशमा पाइँदैन, ती सबैलाई संरक्षण गर्दै सबैले अपनाउन सक्नुपर्छ। राष्ट्रलाई संकट पर्दा सबै नेपालीहरु एकजुट भएर नै बचाउँदै आएका पुर्खाको वैभव विरासत स्मरण गर्दै, आफ्नो शरीरमा अझै पनि त्यही पुर्खाको रगत बग्दछ, नेपाली माटोले नै यो शरीर बन्दछ भन्ने सत्य सबैमा अनुभूत होउस्। नेपालीमा सद्भाव, सहिष्णुता, प्रेम र सर्वैकत्त्वको प्रादुर्भाव होउस्। 

यही सन्देशका साथ नयाँवर्ष २०७८ को सबैलाई शुभकामना व्यक्त गर्दछौं। साथै सम्पूर्ण नेपाली मुसलमान समुदायमा रामदानको शुभकामना व्यक्त गर्दछौं।

नेपाल आमाको जय

जागुन् राष्ट्रिय गाथा। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


यी लेख पनि पढ्नुस। 
२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।