जन गणना २०७८ मा निहित षड्यन्त्र भाग १: परिचय र समाधानको बहस आरम्भ ।।

माओवादी प्रयोग गरेर यँहाको धार्मिक आस्था, राष्ट्रप्रेम र मनोविज्ञान विक्षिप्त पार्दै राष्ट्र खण्डिकरण हुँदै विसर्जनको योजना सहित चलिएको प्रपन्च बारे अघिल्लो ३ लेखहरुमा उजागर गरि सकेका थियौं। आज जन गणना २०७८ मा निहित षड्यन्त्र बारे केहि बताउने जमर्को गरेका छौं। 

माओवादीले डर हावी गराएर राखेको नेपाली समाजमा धर्म संस्कृति, पहिचान, आफ्नोपन, इतिहास, पुर्खाका वैभव विरासतको खोजि बढेको छ। अझ भन्ने हो भने आफ्नो मूल बाट छिन्न भिन्न भएका नेपालीले अहिले आफ्नो राष्ट्रिय, सांस्कृतिक, सामाजिक मूल्य मान्यताको जगेर्णा गर्ने र खोजि गर्ने गतिविधिले तिब्रता पाएको छ। यसै बीच नेपालमा हिन्दुत्वको नारा निकै आक्रामक शैलीमा गुञ्जिन थालेको छ। २०४७को संविधान र तत्कालिन व्यवस्था अनुसार नेपाललाई हिन्दु राष्ट्रको पहिचान दीएको भएता पनि यँहाको मूल धर्म बौद्ध, किराँत र बोनले पनि उचित संरक्षण पाई रहेका थिए। नेपाली मुसलमानलाई पनि हज जाने सुविधा, दरबार अगाडी मस्जिद र अन्य सहुलियत एवं संरक्षण प्राप्त थियो। कसैले पनि कसैको धर्मको विरोध, निषेध र परिवर्तन गरेको इतिहास छैन। सबैले आ-आफ्नो चाड पर्व आफ्नै कुल पद्दति, मूल परम्परा अनुरुप मनाउने एवं एक अर्कामा पनि खुशियाली साट्ने, शुभकामना व्यक्त गर्ने गर्थे। गाउँ समाज सबै सद्भाव, सहिष्णुता र सर्वैकत्त्वको भाव सहित शान्त, हर्षित, मर्यादित एवं प्रेमिल थियो। 

तर अहिले ३ दशकमा सबै उलट पुलट उथल पुथल भएको छ। करीब आधा लाख अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको क्रीड़ा-स्थल/अखडा (हब) बनेको यो देशमा सबै मूल्य मान्यता, संस्कार, संस्कृति, सद्भाव, सहिष्णुता र सर्वैकत्त्व विलिन हुने अवस्थामा लगिएको छ। सुजन ह्याङ्गेन नामकी अमेरिकी मानवशास्त्री(एन्थ्रोपोलिजिस्ट), राष्ट्र विसर्जन सम्बन्धि तालिम प्राप्त बाबुराम भट्टराइ एवं इन्डियन नागरिक गोपाल गुरुङ्गको माध्यमले इंडियामा जे जति पनि मनगणन्ते कथा बनाएर हिन्दु र अहिन्दु भन्ने कित्ताकाट गराइयो त्यहि मनगणन्ते कथामा इन्डियन परिवेशको ठाउँमा नेपाली राखेर समाजमा भाँडभैलो ग्रन्थ रचियो। अहिले मित्र परियार र आहुतिले पनि त्यहि कथा पढेको आधारमा गाउँ गाउँमा सर्वैकत्त्व फुटाउँदै, नेपाली नेपाली टुटाउँदै हिडेका छन्। बौद्धिक कहलाइएका डा सुरेन्द्र केसी, मदन दिलाइएका चन्द्र बानियाँ जस्तालाई बाबुरामको साथमा मस्टो बारे पनि नयाँ धर्म खडा गरिएको छ। खैर, सबैले आफ्नो इच्छा अनुसार धर्म मान्ने, केलाई धर्म भन्ने त्यो छुट सबैमा छ तर यसले समाज विखनडनको मार्ग नबनोस् भनेर देशव्यापी चलेको संवाद, वहस, सामाजिक संजालमा हुने टिका टिप्पणी र विश्व राजनीति, साम्राज्यवादीको चलखेलको परख जोख्ने प्रयास सहित आजको लेखको मूल विषय तर्फ प्रस्थान गरौँ। 


जनगणना २०७८ को बारेमा देशभरि विभिन्न गफ, बहस, छलफल, अतिरन्जना र मजाक सुन्न पाइन्छ। कतै हिन्दुराष्ट्रको मुद्दा तुहाउनको लागि हिन्दुको जनसंख्या घटाउने चलखेल हुँदैछ भन्ने विश्लेषण व्यक्त भएका छन् भने कसैले हामीलाई हिन्दुकरण गरेर हाम्रो अस्तित्व नामेट पार्दै छन्, त्यसैले आफ्नै जात अनुसारको संस्कृति अनुष्ठान, पुजा पद्दतिलाई नै धर्मको नाम दिएर जनगणनाको फारममा नयाँ महल थप्ने अभियान चलाइरहेका छन्। पृष्ठभूमिमा र माओवादी प्रायोजन बारेको अगिल्लो शृंखलामा बताए अनुसार "एकतामा नै नेपाली हुनुको सार्थकता" रहेको देशमा "भिन्नतालाई अभिशाप" बनाउने कुचेष्टा सहित थुप्रै नेता प्रयोग गरेर भिन्नतामा विपरीतार्थी निषेधात्मक मनोविज्ञान तयार गर्न धेरै कामहरु भइसकेकाले अहिले नेपालीहरुमा उदार चिन्तन र सर्वैकत्त्वको भाव हराउँदै गएको छ। 

बहुभाषिक देशमा सबैलाई जोड्ने भाषा नेपाली भएको यथार्थलाई पनि तोड मोड गरेर नेपाली भाषा लाद्दै छ भनेर दिमाग भुटीएको छ। आफ्नो मातृ भाषा बचाउन गाउँ ठाउँको बोर्डिंग घेरेर मातृ भाषा पनि पढाउन दबाव दिन कोहि चाहन्न। घरमै होम ट्युसन पनि गर्न सकिन्छ तर यी कुरा गरे त समाज भाड्न पाइदैन। कसैले शान्ति प्रेरित समाधन दिएमा अरिंगाल उत्रिने डर छ। संक्षिप्त र सोझो भाषामा भन्नु पर्दा नेपाली शब्दको शब्दावली नरुचाउने अवस्थामा लगिएको छ हिन्दु बाहेकका समुदायलाई। 

धार्मिक/बौद्धिक जमातहरुले सबै नेपालीलाई 'सनातन' भन्ने शब्दले सबैको धर्मलाई बोक्छ भनेर बुझाउने रिझाउने प्रयास गर्दैछन्। तर संस्कृत बाट उत्पन्न भएको शब्दलाई हिन्दुवादीकै नयाँ जाल भनेर विभिन्न सामुदाय सम्प्रदायमा सिकाइएको छ। अवस्था हेर्दा धर्मनिरपेक्ष राखेमा पनि देश नराम्रो दलदलमा जाने, यहाँको मौलिक पहिचान हरूको हत्या गरिने अस्तित्व नामेट पारिने कहाली लाग्दो भविष्य देखिन्छ। अनि धर्मसापेक्ष बनाए पनि कुन शब्दले सम्बोधन गर्ने ? ॐकार भन्ने शब्द रा प्र पा को कारणले वजन घटिसकेको छ। वैदिक हिन्दू राष्ट्र शब्दलाई अगाडि ल्याउन नमिल्ने गरी समाजमा घृणाको कलंक घुलिसकेको छ। जसरी इण्डियामा हिन्दु र अहिन्दु भनेर कित्ताकाट चल्यो, त्यसकै प्रभावले वैदिक हिन्दु राष्ट्र भन्ने शब्दलाई पनि नेपालमा जातीय/धार्मिक दंगाको पासाको रुपमा प्रयोग गर्ने गरि पश्चिमाले नंग्रा दारा तिखार्दै छन्। न सनातन भन्ने शब्दले, न वैदिक हिन्दु भन्ने शब्दले, न ओमकार परिवार शब्दले, न धर्म निरपेक्ष भन्ने शब्दले देशमा शान्ति पुनर्स्थापना गर्ने सम्भावना राख्छ। नेपालमा घृणाको विषवृक्ष मौलाउँदै गएको अवस्थामा त्यसलाई काट्ने उपाय तिरबाट सबैले सोच्न जरुरी छ। लेखको अन्तिममा हाम्रो सुझाव पनि व्यक्त गर्ने छौं। 


एकछिन सबैको अहंकार जोखौं है। 

अलिकति संसारभरि वहसमा आएको नयाँ सैद्धान्तिक जालो बारे बुझौं। सभ्यतागत राज्य, civilization state, भनेर प्राचिन साम्राज्यलाई  सम्बोधन गर्ने नियतले नयाँ अवधारणा लेखिसकीएको छ। यो सिद्धान्तले विशेषतः सानो सानो देशलाई ठुलो देशले आफ्नो साम्राज्यमा परिणत गर्ने महत्वकांक्षा लिएर लेखिएको गन्ध आउँछ। चिनले प्राचिन इतिहास अनुसार दक्षिणी चिनिया सागर, ताइवान, तिब्बत आदि आसपास ठाउँमा दावी गर्ने र इंडिया पनि अहिले शक्तिशाली बन्दै गएको अवस्थामा हिन्दुत्वलाई ढाल बनाएर, राहुल सांकृत्यायन, नेहरु र गान्धी मिलेर रचेको १९४७को षड्यन्त्र अखण्ड भारतको फर्जी इतिहासलाई आधार बनाएर नेपाल दावी गर्ने दिन आउन सक्छ।  यो कुरा भर्खरै हेर्दा मजाक वा बकम्फुस मान्ने जमातले अबको दुइ दशक भित्र बुझ्ने छ। नेपालको हिमवत खण्डको इतिहास त छ तर बर्तमान नेपाल निकै कमजोर, निरिह र क्षिर्ण अवस्थामा रहेकाले कठिन छ। बौद्ध सभ्यताको उत्पत्ति, हिन्दु सभ्यताको उत्पत्ति मैथिली सभ्यताको उत्पत्ति थलो नेपाल भएतापनि दावी गर्न सक्ने अवस्था छैन। २०० वर्ष अघि सम्म संसारको सबै भन्दा शक्तिशाली अंग्रेज साम्राज्यवादी सेना लाई समेत लखेट्ने सामर्थ्य भएको नेपाली सेनाको पतन गराइएकाले नेपालको शक्ति नगन्य अवस्थामा छ। 

यदि सिभिलाइजेसनल स्टेट विश्वव्यापी मूलप्रवाहमा आयो भने हिन्दुराष्ट्र भनेर अगाडी बढेमा अखण्ड भारतले खाइदिने छ। बौद्ध राष्ट्र भनेमा चाइनाले समात्ने छ। किनकि नेपालको सबै बौद्ध धर्मको संगठन प्रमुख देखि गुम्बा विहार र पन्थ प्रमुख तिब्बती छन्। यसको तोड नेपालको अर्को सभ्यतामा छ, जुन नेपालकै प्राचिन हो। त्यो हो किराँत सभ्यता। के नेपाललाई किराँत धर्म सापेक्ष राष्ट्र घोषणा गर्न सकिन्छ ? तिम्रो अहंकार घोच्यो होला है ? यँहा कुर्सिको लागि पहिचानको रोइलो चल्दै छ। किराँत समेत ३ झुण्डमा फुट्दै छ। युमा, यायाख्य र किराँत। अनि किराँती पनि अन्तिम आगमवक्ता आङ्ग्सिमाङ्ग महिङ्गुम महागुरु फाल्गुनन्दले देखाएको पथ अनुरुप अघि बढ्न मान्लान र ? जान सक्लान त ? तर जनसंख्याको आधार हेर्दा यसलाई न मान्ने अवस्था बन्ला। 

त्यसैले नेपाली मुलधर्म सापेक्ष राष्ट्र भनेर घोषणा गरौं। नेपाली मूलका धर्म ६ ओटा छन्। हिन्दू, बौद्ध, किराँत, बोन, मस्टो र  प्रकृतिपूजक। यी सबैको समष्टि हो नेपाल सभ्यता। धर्मको महलमा नेपाली मूल धर्म भन्ने एकमात्र महल राखौं। २०७८ को जनगणनामा बिदेशी हावी हुन नदिन हामीले देखेको एकमात्र उपाय यहि हो। नभए देश धार्मिक युद्धमा जान तयार राखिएको छ।

नेपाली मूल धर्म बारे। । 

नेपालीको अन्य देशका भन्दा भिन्न पद्दति खोजौं।। 

नेपाली हिन्दुको दशैंको टिका, जमरा, तिहारको देउसी भैलो, भाई टिका, देवाली/कुल पुजा इन्डियन हिन्दु संग मिल्दैन। छोरी लाई ढोग्ने संस्कार पनि नेपाली हिन्दुको हो। 

किराँतको साकेला, चण्डी नाँच, नेवारको लाखे नाँच, जात्रा; किराँती, भोट्, तामांग, गुरुङ्ग बोन र बौद्ध वाला नेपालीको उधौली, उभौली, ल्होसार; मस्टो पुजन आदि अहिले सम्म नेपालमा शाषक जो भए पनि जिवन्त रही रहनु नै नेपाली मूलधर्मको आधार हुन्। हलेसी धाममा हिन्दु, बौद्ध, किराँतको सामुहिक पुजा, मुक्तिनाथ, गुप्तेश्वर गुफा, किराँतेश्वर महादेव, फाल्गुनन्दलाई महागुरु मान्ने आदि व्यवहारहरु नेपाली मूलधर्मको अवधारणा नेपालमा जिवन्त छ भन्ने साक्षी हो। पशुपतिमा बौद्धको पुजा, शिव र बुद्ध एकै मुर्तिमा जोडिएको प्रतिमा, स्वयम्भुमा हरेक नेपालीले दर्शन भेट चढाउनु, बुढा सुब्बालाई सबै नेपालीले आफ्नै ठान्नु, जनै पुर्णिमामा बौद्ध लामाले तावा(डोरी) लगाइदिने चलन नेपाली बौद्ध धर्मको हो यो अन्य देशमा छैन। नेपाली मुसलमानको पनि सेतो टोपी भन्दा पनि ढाका टोपी सहित हज जाने पद्दति नेपालको आफ्नै हो। पहाडी वस्तीमा रहेका रैथाने चुरेटा मुसलमानले त दशैं पनि राष्ट्रिय चाडको रूपमा मनाउने गर्थे, चुरा, पोते, सिन्दूर आदि पनि नेपाली रैथाने मुसलमानको मौलिक अद्वितीय पहिचान हो। जसरी पृथ्वी नारायण शाहले नेतृत्व गरेको एकीकरण अभियानमा हरेक गोलि र वारुदमा नेपाली मुसलमानको योगदान छ। त्यहि देश प्रेम नेपाली मुसलमानले पनि आफ्नो पुर्खाको रगत सम्झेर आफुमा त्यो राष्ट्रप्रेम जगाउन सक्न पर्छ। नेपाली सभ्यतामा आधारित अन्य देशमा नहुने (अद्वितीय पहिचान) चलन चल्तीको यथा सिग्र संकलन र व्यवहारमा न उतारेमा नेपाल सिक्किमीकरण वा तिब्बतिकरण हुन बाट केहि ले पनि रोक्न सक्ने छैन। सबै नेपाली एक जुट हुन पर्ने अवस्था बुझौँ। 


तर छोटा पाकिस्तान एवं गजबा-ए-हिन्दको योजना सहित नेपालमा धेरै मुसलमान घुसाइएको छ। यसको बारे, क्रिस्टियन एजेन्डा, पश्चिमाको सामरिक एजेन्डा, इंडियाको पानि एजेन्डा(मधेश) र हिन्दुत्त्वको एजेन्डा एवं अन्य चलखेलहरु बारे आगामी दिनमा शृंखला लिएर आउने छौं। यो लेख पढेर मनमा जिज्ञासा आएमा राख्नु होला। हामी बुझाउन सक्ने जति प्रयत्न अवश्य गर्ने छौं। 


नेपाल आमाको जय ,जागुन राष्ट्रिय गाथा।।। 


सर्वैकत्त्व भवतु:

 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

नोट: जनगणनामा फारम भर्दा गल्ति हुन सक्छ भन्ने बहानामा सिसाकलम(पेन्सिल)ले भर्ने र पछि मेटाएर चलखेल गर्ने योजना चल्दै छ। सतर्क रहौं।

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।