"नेपालीलाई नेपाल चिनाउने चेष्टा" भाग ३: निर्माण, वास्तुकला, शिल्पकला । । भिडिओ सहित। ।

नेपालको वैभव विरासतको गाथा बताउने योजनाले तयार पारिएको , "नेपालीलाई नेपाल चिनाउने चेष्टा" को तेस्रो भागमा नेपालले इञ्जिनियरिङ्ग, डिजाइन र कस्नट्रक्सन(निर्माण, वास्तुकला, शिल्पकला) को क्षेत्र मा के कस्ता योगदान संसारलाई दिएको छ ? हाम्रो भूमिमा प्रतिपादन गरिएको वास्तुकलाको आधारमा कति देशहरुले गर्वान्वित मान्ने धरोहरहरुको निर्माण भएका छन् ? विश्व गुरु नेपाल भूमिको कला, शिल्प र निर्माणका योगदान, ज्ञान एवं पहिचान बारे आजको लेख छ। 


"नेपालीलाई नेपाल चिनाउने चेष्टा" भाग ३ 

निर्माण वास्तुकला शिल्पकला  इञ्जिनियरिङ्ग, आर्किटेक्चर र क्र्याफ़्ट्म्यान्शिप



हालको यूरोप अमेरिकातिर मान्छेहरु सभ्य नहुँदै हाम्रो देशमा विभिन्न भौतिक पूर्वाधारहरूको निर्माण एवं निर्माणसम्बन्धी विस्तृत तथा सुक्ष्म  अध्ययन र प्रयोग भइसकेका थिए। प्रसंग सुरु गरौँ,  वेद वास्तु शास्त्रबाट। नेपालीलाई नेपाल चिनाउने चेष्टाको पहिलो भागमा बोटे आमाका छोरा जन्मले सीमान्तीकृत दलित कृष्ण द्वैपायन वेदव्यास दमौली जिल्लाका व्यक्तिको बारेमा उल्लेख गरेका थियौं। उनले लेखेको/संकलन गरेको बहुसंख्यक पुस्तकहरु मध्ये करिब आठ वटा (अथर्व वेद, स्थापत्य वेद, अग्नि पुराण, मत्सय पुराण, भविष्य पुराण, महाभारत, रामायण, विष्णुपुरण) मा वास्तु शास्त्र अर्थात् निर्माण विज्ञानको बारेमा बताइएको छ। ऋषि पराशर जो कृष्ण द्वैपायनका पिता थिए, उनले नै वास्तुको बारे लेखनको आरम्भ गरेका थिए। ऋषि पराशरको नाम बाट नै परासी(नवलपरासी) हो। यी सबै किराँत कालिन नेपालमा लेखिएका हुन्।  

घर, मन्दिर, पाटी, पौवा, मण्डला, शहर सम्बन्धी निकै नै वैज्ञानिकता पूर्ण ढंगले व्याख्या गरिएको छ, वास्तु शास्त्रमा। चार वेद मध्येको अथर्व वेद को उपवेद मानिएको स्थापत्य वेद अर्थात् (साइन्स अफ आर्किटेक्चर) मा बताइएका ज्ञानकै आधारमा हाल संसारभर आश्चर्यको विषय बनेका कम्बोडियामा अवस्थित अन्ग्कोर वट, अजन्ता को गुफा, अस्ति भर्खरै मोदीले सिलन्यास गरेको राम मन्दिर देखि विभिन्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भवनहरु वास्तु कै आधारमा रहेर बनाइएका छन्। सिंगापुर शहर वास्तु मै आधारित छ।



अर्को आश्चर्ययुक्त निर्माण कला हेर्ने हो भने हजारौं वर्ष पहिले मुस्ताङको राजधानी लोमान्थाङमा अवस्थित गुफा बस्ती (केभ अपार्टमेन्ट कम्प्लेक्स) लाई  हेर्न सकिन्छ। चट्टानले बनेको पहाडको भित्तामा प्रवेशद्वार राखेर निर्माण गरिएको त्यस संरचनाको निर्माण ५-७ हजार वर्ष पहिले भएको अनुमान गरिएको छ। यसलाई पनि किराँत कालिन नेपाल कै वैभवको रूपमा लिन सकिन्छ। अर्थात जुन बेला अहिलेका उच्च श्रेणीका सभ्यता भनेर प्रचारवाजी गरिएको युरोपेलीहरुलाई कपडाको बारेमा समेत ज्ञान थिएन, जंगली स्थितीमा रहने गर्थे।  त्यसबेला हाम्रो देशमा आधुनिक विज्ञानलाई समेत आश्चर्यचकित पार्ने निर्माणका कार्यहरु भएको पाइन्छ। 


नेपाल मण्डल अर्थात काठमाडौँ उपत्यकाको उत्पत्तिको प्रसंग आफैंमा इन्जिनियरिङको पराकाष्ठा हो। रिभर इन्जिनियरिङ रिभर च्यानेलिंग अर्थात् पानीको बहाव मिलाउने विज्ञान भनेर बुझ्न सकिन्छ। मञ्जुश्रीले चोभारको डाँडाबाट उपत्यकामा रहेको पानीको निकास दिएको भन्ने प्रसङ्ग बुद्ध धर्ममा स्वयम्भूको कथामा पाइन्छ। त्यस्तै नेपालको पहिलो राजवंश भनेर मानिएको गोपाल वंश कृष्णले स्थापना गरेको भन्ने विश्वास छ। जस अनुसार कृष्णले उपत्यकाको पानि चोभार बाट निकास दिएर मानव बसोबासको लागि उपयुक्त बनाएको भन्ने विश्वास छ। सो पानिको निकासको प्रक्रियालाई रिभर इन्जिनियरिङ /च्यानेलिंग भन्न सकिन्छ। बेलाबेलामा कालीगण्डकी नदीलाई पहाड खनेर बुटवल तिर पुर्याउने कालीगण्डकी डाइभर्सन बारे सुन्दै नै आउनुभएको होला। यही प्रबिधिबाट नै काठमाडौँ उपत्यकाको दहको पानी चोभारबाट निकास गरिएको हो। नेपालमा त्यो जमानामै रिभर इन्जिनियरिङको प्रयोग भएको उदाहरण हो काठमाडौँ उपत्यकामा मानव बसोवासको बारे कालान्तर देखि चलि आएका बिभिन्न धर्ममा भएका प्रसंगहरु।


हालका सम्पन्नशाली राष्ट्रहरूले प्रयोगमा ल्याएका आधुनिक शहर निर्माण र योजना (अर्बान सिटी डिजाइन एण्ड प्लानिंग)का अवधारणाहरु नेपालमण्डलमा दैनिकी जस्तै थियो। त्यो बेलाको कान्तिपुर नगर एक उत्कृष्ट शहर निर्माण र योजना थियो। बाटो, पिउनको लागि पानी, सिंचाईका लागि कुलो, पानी सञ्चय गर्नको लागि रिजर्भायोरको रुपमा विभिन्न पोखरीहरू, ढल निकास सबै कुरा मिलाएर निर्माण गरिएको शहर थियो कान्तिपुर नगर। अहिले रानीपोखरीमा वरिपरिका पानिको वहाव मिलाउन नजानेर नै जमल रत्नपार्क, कमल पोखरी लगायत उपत्यका एवं देशका बिभिन्न शहरमा गरिएका प्लानिंगमा वर्षायाममा डुंगा चलाएर हिड्न पर्ने अवस्था बन्छ। अहिलेका कथित आधुनिक  निर्माणको विधि अपनाएका हाम्रा सरकारी औंठाछाप, ठग्दार/जग्गा-दलालहरुलाई यसले चुनौती पनि दिन्छ। को आधुनिक ? को वैज्ञानिक ?  त्यो बेलाका वा अहिलेका गोबर ल्वाँठहरु ??


जति पनि काठमाडौंका महल दरबार निर्माण भएका छन् त्यही नै इट्टाको कारखाना हुन्थे जसमा चाहिँने मात्रामा इट्टाको निर्माण गरिन्थ्यो। रङरोगनका लागि पनि पेण्टको पनी त्यो बेलै निर्माण भइसकेका थिए। 

अमेरिकामा यदि कसैको बिहेको दिनमा पानी नपरोस् भन्ने चाहन्छन् भने एक लाख अमेरिकी डलर बुझाए जिओइञ्जिन्यरिङ्गको रेन/क्लाउड सिडिङ्ग(वृष्टि बिजन) प्रविधिबाट ओलिभर ट्रावेल्स नामको कम्पनीले पानी नपर्ने ग्यारेन्टीको साथ् व्यवसाय गर्छ। चिनले पनी (वृष्टि बिजन)को माध्यमले पानि पार्ने प्रयोग गरेको बारे खबर आइ रहेको छन्। नेपाल मण्डलमा गोरखनाथले काठमाडौंमा पानी पर्न बाट रोकेको र मछिन्द्रनाथले पानी पारदिएको प्रसङ्गले यस क्षेत्रको प्रविधि नेपालका ज्ञाताहरुलाई त्यो बेला नै थाहा भइसकेको पुष्टि हुन्छ। 



भिडिओ

मुर्तिकला काष्ठकला

मुर्तिकला काष्ठकला आदिको बारे हेर्ने हो भने अमेरिका भन्ने देशमा उपनिवेशवाद नलाग्दै यहाँ काष्ठमाण्डप पचपन्नझ्याले दरबार आदि बनिसकेका थिए। हाल संसारभर चीनिया(चाइनिज) शैलीको मन्दिर/गुम्बा भनेर प्रख्यात भएका सबै प्यागोडा हुन्, जुन नेपालको १६ बर्षे ठिटो (अरनिको/वलबाहु)ले चीनमा गएर बनाइदिएका थिए। उनले नै नेपालको ज्ञान तथा वास्तु विज्ञान चीनमा पहिलोपटक लगेका थिए। हालसम्म पनि चीनले त्यही ज्ञानमा आधारित रहेर निर्माणको मौलिकता झल्काएको पाइन्छ।  एउटा १६ बर्षे ठिटो सँग त्यो स्तरको ज्ञान थियो भने उसलाई सिकाउने कुन हैसियतका थिए होलान् ? अहिले आधुनिक नेपालमा २०७२ सालको भूकम्पले क्षती भएका पाटन र काठमाडौँ दरबार क्षेत्र पुनर्निर्माणको जिम्मा चीनले लिइरहेको छ। के नेपालमा उत्पन्न भएको ज्ञानलाई थाम्ने अर्को नेपाली छैनन् ? नेवार समुदायलाई आफ्नो त्यो ज्ञान बचाउन पर्ने आवश्यकता छ भनेर पहिले चेत खुल्ने हो? पहिचान, नेवाः राज्य भन्दै, बाहुन/क्षेत्रीलाई गालि गर्दै घृणा फैलाउन भन्दा आफ्नो प्राचिन ज्ञान बचाउन सक्न पर्छ।

अरनिको, नाम त सबैले सुन्नुभएकै होला! तर उनीभन्दा पनि, करिब पाँच सय बर्षअघि नेपालबाट नेपालका कलाकृतिहरूको निर्माण ज्ञान छर्न  इण्डोनेसिया पुगेका व्यक्तित्व #गुणधर्म रहेछन्!
हाम्रो काठमाडौँ, नेपाल मण्डल, नेवा: सम्पदा, ज्ञान कौशल परम्परा, निर्माण र वास्तु विज्ञानमा उसबेलाबाटै विश्व गुरुको हैसियत राख्ने अवस्थामा थियो ! science of construction, वास्तुशास्त्र लेखिएको भूमि हो हाम्रो देश ! 

खानि विज्ञान(माइनिङ्ग/ मेटालर्जी)

खानि विज्ञान (माइनिङ्ग/ मेटालार्जी)को बारेमा पनि नेपालीहरुलाई धेरै पहिलेबाट ज्ञान थियो। फलाम, सुन, चाँदी, तामा, पित्तल लगायत अन्य धातुको एवं खनिजको प्रशोधन गरी हात-हतियार, औजार, मूर्ति, ढलोट, गजुर, धारा, भाडा-कुडा आदि बनाउने ज्ञान हाल सम्म पनि जीवन्त छन्। हिमाली भागमा ५० फुट भन्दा अग्ला धातुले बनेका बुद्धको मूर्तिहरू हजारौ वर्ष पहिले निर्माण भइसकेका थिए। नदीहरूको नामाकरणबाट पनि खानि विज्ञानको बारे नेपालीलाई धेरै पहिले नै ज्ञान थियो भन्ने कुरा पुष्टि हुन्छ।  बिभिन्न ठाउँका नामाकरण त्यसै अनुरूप चल्दै आएको पाइन्छ। तामाकोसी, सुनकोसी, खानिखोला, खानिपहाड, फलामखानि आदि नाम नेपालका विभिन्न स्थानमा छन्। यसले नेपालीहरुले खानि पहिचान गर्ने खुबी हालको भाषामा भन्नुपर्दा मेटालार्जी बारे राम्रो दख्खल राख्ने गरेको बुझ्न सकिन्छ। खनिज/धातु आदि पत्ता लगाउने उपकरण अथवा अरु कुनै विधिको निर्माण भएको हुन पर्छ।  यसैको माध्यमले कुन डाँडाको कुन भागमा खानि छ भनेर पत्ता लगाउँने गर्थे ? माटोमा कुन खनिज को मात्रा ज्यादा छ भनेर पत्ता लगाउँथे।


पर्यावरण सापेक्ष, दिगो विकास

पर्यावरण सापेक्ष, दिगो विकास आदि कुराहरु हाम्रो निर्माण, खानि उत्खनन आदिमा लागू हुने गर्थे। पृथ्वीको सबै स्रोत, संसाधानको चरम दोहन गरेर चलेको अहिलेको "धृष्ट फ़ाइदावाजि अर्थ प्रणाली"बाट तर्सिएका कथित आधुनिक युरोपेलीहरु अहिले आएर बल्ल मिनिमलिज्म (न्यून प्रयोग), पुनः प्रयोग, दिगो विकास, चाहना होइन आवश्यकता अनुरुप आदि अवधारणाहरू बारे बहस सुरु गर्दैछन्। तर यो सबै कुरा हाम्रा पुर्खाहरुले बुझेकाले सोहि अनुसारले नै हाम्रा खनिजहरु उत्खनन हुन्थे। धर्तिको बढ्दो तापक्रम(ग्लोबल वार्मिङ्ग)को पछाडी सहर ज्यादा तात्ने कालपत्रे सडक, कंक्रिटका पूर्वाधार प्रमुख कारण रहेको कुरा खुल्न आएको छ। हाम्रो नेवार बस्ती अर्थात नेपाल मण्डलका बाटो घाटो मा अझै पनि हिँड्दा शितलताको अनुभव हुन्छ। यो किसिमको बाटोहरु हामीले धेरै पहिले बाटै बनाउँदै आएका छौं। जापान र नेपालका अनुसन्धानकर्ताहरूले गरेको सोध अनुसार नेपालको पारम्परिक शैलीले बनाइएका घरहरुमा गर्मीमा शीतल र जाडोमा न्यानो हुने रहेछ भन्ने कुरा पत्ता लागेको छ। तापक्रममा ७  डिग्रीसम्म फरक पाइएको छ। तर अहिलेका कंक्रिटले बनेका कथित आधुनिक घरमा ठीक उल्टो गर्मीमा ज्यादा तातो र जाडोमा पाइताला नै करेन्ट हान्नेगरी चिसो अनुभुति त गर्नु भएकै होला। 

आधुनिकताको नाममा बस्न नै कठिन हुने निर्माण विधि अपनाएर आफ्नो मौलिक तथा वैज्ञानिक निर्माण विधिहरु त्याग्दै जानु ठूलो अभिशाप बन्नसक्छ। 


दलित वा इन्जिनियर 

विदेशीले नेपालका ती इन्जिनियर, खानि विग्य, खानि विद्हरुलाई दलित भन्ने शब्दको पर्दा ओढाएर नेपालका ती ज्ञान, शिल्प, वैभवबाट नेपालीलाई बिमुख गराइदिएका छन्। कोटा प्रणाली गराएर आफ्नो त्यो प्राचिन ज्ञानहरु छोडेर दासतामा रमाउने मानसिकता विकास गरिएको छ। न कुनै क्याल्कुलस न कुनै ज्यामिति 

को आधार लिई आधुनिक विज्ञानलाई समेत आश्चर्य चकित पार्ने निर्माणका ती ज्ञानलाई संकलन गरेर पुस्तकहरू निर्माण गरी पुनः चलनचल्तीमा ल्याउन तालिम कार्यक्रमहरु नगरेमा ति कालान्तर देखि शीपले पोख्त रहेका इन्जिनियर को पराकाष्ठा भएका समुदाय दलित भन्ने शब्दमा नै अपहेलित रहेर बस्न पर्ने हुनेछ।  त्यसैले आफ्नो प्राचीन ज्ञानलाई आधुनिक परिभाषामा ब्याख्या गरे मात्र पहिचानको लडाइँमा विजय हासिल होला। 

 होइन भने दलित भन्ने ठप्पामा रमाएर कोटा प्रणालीमा आफ्नो सबै ज्ञान, वैभव, विरासतहरु तिलान्जली दिन तयार रहनुपर्छ। दलित होइन इन्जिनियर, आर्किटेक्ट, अल्केमिस्ट, शिल्पकला, वास्तुकला आदिका पिएचडि डक्टरेटका हैसियतका व्यक्तिहरु हुन्, ति समुदाय। 


पुरातात्विक महत्वका बस्तु

पुरातात्विक महत्वका बस्तुहरु मूर्तिहरु काम नलाग्ने ढुङ्गा सरह बनाएर राखेका छौं हामी नेपालीहरुले। केही बनाउन सक्ने अवस्थामा छैनौं, पूर्खाले बनाइदिएर गएका ती वस्तुहरूको समेत संरक्षण गर्ने चेत खुलेको छैन हाम्रो कथित आधुनिक शिक्षित मतिभ्रष्टहरुलाई। लिच्छविकालमा कैलाशकुट नामको भवन रहने गर्थ्यो। त्यो तीन तले कैलाशकुट भवनको दोस्रो तलामा १००० जना मान्छे अट्ने सभाहल बनेको थियो। हालको संसद भवन भन्दा ठूलो सभाहल बनाएका थिए लिच्छवी कालिन शिल्पकार, कालिगडहरुले। अहिले त्यसको कहिँकतै भग्नावेश समेत भेट्न गाह्रो छ। त्यस्तै, किराँत कालिन गौरवशाली ईतिहास बोकेको किराती राजा पटुकको ऐतिहासिक दरबार परीसर चौतर्फीबाट शहरीकरणको चपेटामा परेको छ। ललितपुर उप-महानगरपालिकाको वडा नं १८ मा पर्ने बेवारीसे अवस्थामा रहेको सबैले फोहोर फ्याक्ने गुहु मुत थुपार्ने माटोको ढिस्को लाई नै आज किराती राजा पटुकको दरबार हो भनिन्छ। हामी नेपालीहरु पुरातात्त्विक महत्वका वस्तुको जगेर्ना गर्नै रुचाउन्नौं।


हाम्रा नेपालीहरुले लुम्बिनीमा रहेका बुद्धकालीन, अशोककालिन ईंटाहरु ईन्डियालाई कौडीको भाउमा बेचे। इन्डियाले त्यहीँका इट्टा प्रयोग गरेर दुरुस्तै हाम्रो लुम्बिनी जस्तै कपिलवस्तु भन्ने ठाउँ बनाएको छ। त्यहि ठाउँलाई नै लुम्बिनी बुद्धको जन्मथलो इंडियामा छ भन्दै प्रचार पनि गर्दैछ। कार्बन डेटिङ्ग (कार्बन विकिरणको क्षयद्वारा समयावधि मापन गरिने विधि) गरेर हेर्दा इण्डियाको कपिलवस्तुका ईंटाहरु पनि नेपालकै कपिलवस्तुको ईटा कै उमेरमा हुन्। किन नहोउन् नेपालीले नै बेचेका त थिए। 

कति नेतालाई मात्र देश बेच्ने भनेर गाली गर्ने। आफ्नो ऐतिहासिक धरोहर को संरक्षण नगर्नु वास्ता नगर्नु पनि देशको अस्तित्व बेचे/नाश गरे सरह नै हो। देशको इतिहास दबाउनु लुकाउनु वास्ता नगर्नु भनेको देशद्रोह नै हो। आफ्नो पहिचान जोगाउन हामीले के कति गर्दै छौं ? हाम्रो इतिहास हामीले आफ्नोपनमा लेख्न, बचाउन न खोज्ने बानिले र अङ्ग्रेजले लेखेको पुस्तक पढेर आफ्नो सोध अध्ययनको भत्ता पचाउने बिज्ञको बिगबिगीले पनि हामी विदेशीले मनपरी इतिहास लेख्दिएर लडाउन थापेका जालो\पास मा फस्दै छौं। अहिले पनि कैयन महत्त्वपूर्ण शिलालेख, र अन्य पुरातत्व महत्त्व बोकेका वस्तु जसको अध्ययनले यथार्थ इतिहास बुझ्ने मौका मिल्थ्यो, तिनको न नै संरक्षण भएको छ न नै कसैलाई चासो छ। पहिचान पहिचान भन्दै क्षयरोगी जसरी खोक्ने नेतालाई तेइ पुरातत्त्व महत्त्वका बेवास्ता गरिएका ढुंगाले हान्न इच्छा छ। तर के गर्नु उनकै पछि भेडाको बथान छ। आफ्नो समुदायको पहिचानबादी नेतालाई इतिहासको अध्ययन, पुरातात्विक महत्वको अभिलेखीकरण गर्न न लगाएमा पहिचानको मुद्दा केवल बिखन्डन, हिंशालाई प्रसय दिने र आफ्नो प्राचिन वैभव मेटाउने मा नै सिमित हुने छ।

यो लेख पढेर कहीँ कतै कसैको चेत खुलेको भएमा आफ्ना ठाउँहरुमा रहेका पुरातात्त्विक महत्त्वका केही चिज भेटेमा भिडिओ बनाउँ, लेख पठाउँ। स्थानिय सरकारलाई त्यसको संरक्षण गर्न पहल गरौँ। 


नेपाल आमाको जय।

जागुन्  राष्ट्रिय गाथा। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप) 



नेपालीलाई नेपाल चिनाउने चेष्टा भाग १ : नेपालीले बिर्सिएको नेपालको वैभव विरासतका गाथा। 

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।

२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??