नेपालीले बिर्सिएको नेपालको वैभव विरासतका गाथा। भिडिओ सहित।

 


नेपाली परियो, नेपालकै बारेमा लेख्नु छ केही शब्दहरु। तातो न छारो, लाजको पसारो !! ‘तिम्रो राष्ट्र कुन चाहिँ पर्यो ?’  भनेर सोध्दा सबैलाई नेपाल भनिन्छ। त्यो बाहेक अरु खासै नेपाल बुझे जस्तै लाग्दैन।  ल अब सबैले पढौं, सबैले बुझौं। नेपाल के हो ? 

नेपाल कल्पौं-कल्पबाट निरन्तर, जीवन्त चलिआएको देश हो। प्राय जसो सबै प्राचिन देश र संस्कृति, संग्राहलय वा पुस्तकमा सिमित छन्।  तर नेपाल मात्र यस्तो देश हो, जो हरेक युग, हरेक लय-प्रलयको साक्षी रहँदै आफ्नो बिरासत कायम राख्दै आएको छ। यसको नाम सत्ययुगमा देवभूमि-जहाँ देवताहरु बस्ने गर्थे र सत्यवती-जँहा सत्यको साक्षात्कार हुन्छ,  त्रेतायुगमा तपोभूमि- जँहा तप गरेर सत्य बुझ्न सकिन्छ,  द्वापरयुगमा मुक्तिसोपान- जुन भूमिबाट मुक्ति प्राप्त गर्न सकिन्छ (पांच पाण्डव पनि मुक्ति प्राप्तिको लागि प्युठान जिल्लाको स्वर्गद्वारी आएका थिए) र हाल कलियुगमा नेपाल रहिआएको छ। 

पुराण, कथा, इतिहास सबैको आधार लिएर भन्दा, हाल यो देश जुन दरिद्र अवस्थामा छ, यस्तो पहिले कहिल्यै नरहेको यकिन हुन आउँछ।  नेपालको सिमा फेरबदल भएको तथ्यहरु छन्।  तर यसको संस्कृति, जीवनशैली र सार्वभौमसत्ता सधै अडिक र अचल छ। 

‘नेपालीलाई नेपाल चिनाउने चेष्टा’को श्रृंखलामा नेपालको वैभव विरासतका गाथाहरू आधुनिक विज्ञान र प्रविधिको भाषा-परिभाषा अनुरूप व्यक्त गरिनेछ। 

७० प्रतिशत तथ्य, २० प्रतिशत अनुमान र १० प्रतिशत कल्पना; समग्रमा भन्नुपर्दा सत् प्रतिशत उत्साह र मनोरंजन हुने शैलीमा प्रस्तुत गरिनेछ।


अब तिम्रो कानले सुन्नु छ युगले भुलेको तिम्रै काहानी।

अब तिम्रो आँखामा उदाउनेछ नयाँ इतिहासको नौलो बिहानी।

भाग १: पौराणिक काल/ सृष्टि-उत्पत्तिको कल्प। रोचक-मिथक देखि ज्ञान-गुञ्जन सम्म। 

कुरा धेरै कल्प पहिलेको हो , जब यस धर्तीमा टेक्टोनिक प्लेट (पृथ्वी मुनि रहेको तरलको माथि जमीनलाई आडाएर राख्ने भौगालिक संरचना) समेत छुटिएका थिएनन्, सबै जमिन एकै ठाउँमा डल्लो परेका थिए र वरिपरि सारा समुद्र थियो। सृष्टिकर्ता ब्रह्मदेवको मानसमा एउटा सबैभन्दा सात्विक, सुन्दर र मनमोहक तालको रेखाङ्कन चित्र आएछ। त्यो सात्विक ताल भुलोकमा राख्न पाए, सबै प्राणीमा सकारात्मक उर्जा बहने सोचले ब्रह्मदेव पृथ्वीमा आउँछन्। धर्तीमा आउँदा पहिलो नजर हिमालतिर त पर्ने नै भयो, हालको भाषामा तिब्बत (चिन)मा अवस्थित कैलाश पर्वतको काखमा सो ताल बनाई ब्रह्मदेव रमाएरआफ्नो लोकमा फर्किन्छन्। ब्रह्माको मानसद्वारा निर्माण भएकोले सो तालको नाम मानसरोवर रहन गयो।

ब्रम्हाको कस्मिक (ब्रह्माण्डिय) भारले गर्दा धर्तीमा कम्पन पैदा भयो। कम्पनको कारणले टेक्टोनिक प्लेटको साथ महादिप पनि बन्न पुगे। यसक्रममा कैलाश पर्वत अगाडिबाट वरिपरि रहेको समुद्रको पानी छिर्यो र त्यहाँ विशाल समुद्र बन्न पुग्यो। अहिले वैज्ञानिकहरु त्यस समयको समुद्रलाई ‘तेथिस ओसन’/ ‘तेथिस सी’ को  नामले पहिचान गरेका छन्। बिज्ञान अनुसार हिमालय शृंखला टेक्टोनिक प्लेटहरुको टकरावले बनेका हुन् तर पुराणका दृष्टि अनुसार हिमालका केहि अंशहरु पहिले नै बनिसकेका थिए। 

ब्रम्हाको कस्मिक भारले उत्पन्न भएको कम्पनको कारण धर्तीमा अस्थिरता पैदा भयो।  जसलाई सौम्य, शान्त पार्ने उद्देश्यले साम्ब सदाशिव, किराँती भाषामा भन्दा पारुहांग, (चिनिया भाषामा जियान), कैलाश पर्वत आएर बस्न थाले।

आजभन्दा करीब २३०० सय वर्ष अगाडि चिनको हान राज्य को नक्सा अनुसार उनीहरुले  हिमाली राज्य भनेर किरातकालको नेपाललाई रेखाङ्कन गरेका छन्। त्यस समयमा पनि कैलाश पर्वत नेपालकै रहेको थाह हुन आउँछ। राष्ट्र गुरु योगी नरहरिनाथका अनुसार मत्स्य पुराणका राजा मनुले कर्णालीबाट राज्य चलाउँथे, जसको सिमा उत्तरमा कैलाश पर्वत, दक्षिणमा श्रीलंका, पूर्वमा  बर्मा(म्यान्मार) र  पश्चिममा हिन्दकुश अफगानिस्तान सम्म फैलिएको थियो। यस मानेमा कैलाश पर्वत र मानसरोवरमा पनि नेपालको  विरासत गुञ्जिञ्छ। 

एति संक्षिप्त परिचय पछि नेपालको आध्यात्मिक महत्त्वका क्षेत्र एवं ज्ञान-विज्ञानको वैभव विरासत तिर अघि बढौं। 

भिडिओ

त्यो शिव (पारुहांग)को प्यारो भूमि मृगस्थली; जँहा अझै पनि शिवको उर्जा किरातेश्वर र पशुपतिनाथ स्वरूपमा बिध्यमान छन्। त्यो पर्वतको पाङ्ग पार्वतीको जन्मथलो।  त्यो वैष्णव समुदायको सबै भन्दा महत्वपूर्ण धाम मुक्तिनाथ। त्यो गोसाइँकुण्ड; शिवले हलाहल विष पिए पछि जलन रोक्न, त्रिशूल प्रहार गरी बनाएको जलाशय। त्यो समुद्र मन्थन गर्दा आएका द्रव्य-सुन-औषधिय खनिज/धातु आदि बग्ने तामाकोशी, सुनकोशी, अरुण, तमोर नदीहरू। लक्ष्मण मर्ने अवस्थामा हुँदा हनुमान आएर सञ्जीवनी लिएर गएको भुमि। हाल संसारले अनुशरण गर्दै गरेको योगको पहिलो लेक्चर तथा प्र्याक्टिकल (प्रायोगिक कक्षा) गरिएको भूमि। 

कम्प्युटिङ्ग अल्गोरिदमलाई सबैभन्दा सजिलै समेट्न सक्ने गरी बनेको संस्कृत ब्याकरण सृजना भएको भूमि। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ऋषि  पाणिनीले संस्कृत व्याकरण सृजना गरेका हुन्। उनको नाम बाटै पाँडे थर बनेका हुन्।  

अहिले आएर संसारभरि अल्टर्नेटिभ मेडिसिन (वैकल्पिक उपचार पद्धति) भनेर व्यापक हुँदै गएको आयुर्वेदको भुमि। तंत्र साधना पद्दतिको उत्पत्ति भएको भुमि। आजभन्दा करीब १५० बर्ष अघिसम्म नेपालको भक्तपुर तंत्रको केन्द्र रहने गर्थ्यो । काठमाडौँ उपत्यकाको प्राचिन दरवार, मन्दिर, बस्ति सबै तंत्रकै आधारमा बनाइएका हुन्। तंत्र पद्दति भौतिकतालाई आध्यात्म संग जोड्ने विधि हो।  

महामृत्युञ्जयमंत्र गुञ्जिने भूमि। अष्ट चिरन्जीवी मध्येका ऋषि मार्कण्यले महामृत्युञ्जय मंत्र प्राप्त गरेको ठाउँ, हाल नेपालको स्याङ्गजा जिल्लामा पर्छ।  त्यो विशाल महालिङ्ग जसको मार्कण्यले आराधाना गर्थे, सोहि महालिङ्ग शब्द अपभ्रंश हुँदै हाल मालुङ्गा बनेको हो। मालुङ्गाको आध्यात्मिक महत्व उजागर गर्दै सो क्षेत्रको प्रवर्धन गर्न कालीगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठान कार्यरत छ। 

संसारलाई पहिलोपटक वैज्ञानिक कृषि प्रणाली सिकाउने पद्धतिको प्रलेखिकरण (डकुमेण्टेसन) भएको भूमि। ऋषि पराशरद्वारा लिखित कृषि पराशर एक वैज्ञानिक कृषि प्रलेखिकरण हो, जसमा बोट, बिरुवा, मल, पानि, माटो उर्भर बनाउने विधि, बिउ बलियो बनाउने विधि, मौसम अनुसारका बालि आदि बारे बृहत देखि शुक्ष्म शैलीमा जानकारी दिइएको छ। ऋषि पराशरको आवत जावत रहने क्षेत्र हालको नवलपरासी (परासी) हो। 

चार वेद, अठार पुराण हिन्दुत्वको मेरुदण्ड, गीता र भागवत लेखिएको भूमि। ऋषि पराशर र एक बोटे महिलाका पुत्र, जन्मले दलित, सिमान्तिकृत व्यक्ति कृष्ण द्वैपायन (वेद-ब्यास)ले लेखेको (संकलन गरेको) ग्रन्थको आधारमा नै अहिले वैदिक, हिन्दु, सनातन धर्म यथावत छ। हालसम्म कुनै एक व्यक्तिद्वारा रचित पुस्तक, कृति, ग्रन्थ आदि हेर्ने हो भने व्यासको आधा जति पनि गर्न सक्ने अर्को कोहि जन्मेको छैन।  हिन्दु धर्मको आधार-स्तम्भको लेखन कार्य भएको क्षेत्र नेपालको तनहुँ जिल्लाको व्यास नगरपालिका हो। 

क्वाण्टम वैज्ञानिक (Quantum Scientist)हरु नतमस्तक भएर  ज्ञानको पराकाष्ठा मान्ने उपनिषद्को भुमि।  नेपालको मिथिला क्षेत्रबाट नै उपनिषद्को ज्ञान गङ्गा बहन सुरु भएको हो। राजर्षी जनकको पालामा उपनिषद्को मुलप्रवाहीकरण (मेनस्ट्रिम) भएको हो।  उपनिषद्का नायकहरु याग्यवाल्क, अष्टवक्रको पनि कर्म थलो नेपाल भुमि भित्र पर्छ। क्वाण्टम मेकानिक्सका पिता निल्स बोहर्,  हाइजेन्वर्ग र श्रोडिङ्गर, आधुनिक विज्ञानका पिता आइन्स्टाइन, आधुनिक प्रविधिका पिता निकोला टेस्ला र अनेकन वैज्ञानिकहरुको प्रेरणा उपनिषद् रहेको छ। 

एस्ट्रोलोजि(ज्योतिष बिज्ञान)को  पहिलो अनुसन्धान र विश्लेषण भएको भूमि। संसारको सबै भन्दा पुरानो ज्योतिष ऋषि भृगु हुन्। दक्ष-यज्ञमा सतीदेवीको अग्निकुण्डमा हुने अनिष्ठ बारे ऋषि भृगुले ज्योतिष फलको आधारमा बताएको प्रसंग पनि प्रसस्त छन् ।

मौसम बिज्ञानको आरम्भ भएको भूमि। हावामा रहेको आद्रता, हुरी आउने, पानि पर्ने, असिना आउने आदि बारे सजिलै मापन गरेर विभिन्न महिना, तिथि र चाडको नामाकरण भएको पाइन्छ। जिओइञ्जिनियरिङ्गको रेन सिडिङ्ग (इच्छा अनुसार पानि पार्ने/रोक्ने) विधिबारे मछिन्द्रनाथ र गोरखनाथको कथामा सुन्न पाइन्छ। संसारको अन्य सबै देशमा ४ ऋतु छन् तर हाम्रोमा निकै शुक्ष्म तहबाट अध्ययन भएकाले ६ ऋतु छन्। 

राम-लक्ष्मण उच्च शिक्षाको लागि ऋषि विश्वमित्रको गुरुकुल आएको कुरा रामायणमा उल्लेख छ। विश्वमित्र ऋषिको आश्रम कोशी नदिको किनारमा थियो। जस अनुसार हालको नेपाल भुमि  रामायणकालमा उच्च शिक्षाको लागि सर्वोत्कृष्ट रहेको बुझ्न सकिन्छ। 

भौतिक र आध्यात्मिक आयामको व्याख्या विश्लेषण र तुलना सहित आस्तिक र गैर-आस्तिकलाई समेत समेट्ने पहिलो द्वैतवादी ‘सांख्य दर्शन ‘तयार भएको भूमि। यस दर्शनका प्रतिपादक कपिल मुनि हुन्, कपिलवस्तु जिल्ला उनकै नामबाट हो। 

बुद्धको जन्मभूमि, सगरमाथा पहिलोपटक चढ्ने मान्छेको भूमि नेपाल हो। पुराण अनुसार सगरमाथाको चुचुरोमा पाइला राख्ने पहिलो मान्छे मनु राजा हुन् भने आधुनिक युगमा तेन्जिंग नर्गे शेर्पा हुन्। उनले तानेर, ठेलेर चडाइदेको व्यक्ति एडमण्ड हिलेरीलाई पहिलो भनेर मान्दिन पर्ने बाध्यता छ।

समग्रमा भन्नुपर्दा धर्तिको पहिलो डाक्टर,वैद्य, वैज्ञानिक, इन्जिनियर, एस्ट्रोलोजिस्ट(ज्योतिषविद्),  दार्शनिक, एनाटोमिस्ट (शरीर-रचनाविद्), प्राध्यापक र अहिले जति पनि बौद्धिक वर्गका पद, पदवी, विभूषण मानिन्छन् ती सबै जन्माउने हैसियत राख्ने भूमि नेपाल।। 

आगामी लेखमा नेपालको प्राचिनमा प्राचीन सनातन देखि नविनमा नित्य नुतन बर्तमानसम्मका नेपालीको युद्धकौशल, शैन्यवल, किराँत आदि प्रसङ्ग लिएर आउनेछौं।  


लेख शेयर गरेर राष्ट्र जागरण अभियानमा सहयोग पुर्याउनु हुनेछ भन्ने आशामा छौं। 

नेपाल आमाको जय।  जागुन् राष्ट्रिय गाथा। 

शिवगौरीदास (अनुप)

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।