खुवालुङ फोड्ने नियतको नालीबेली । मिसिनरि योजना! विकास वा मूल धर्म बिनास?




खुवालुङ फोड्ने नियतको नालीबेली 

संसद बिघटन पश्चात २०७७को माघ र फाल्गुन महिनामा नेपाल कम्युनिष्ट पार्टीको आमसभा, शक्ति प्रदर्शन अथवा हड्डी, झोल र नोट फालेर बेरोजगार थुपार्ने प्रतिस्पर्धाको निकै ठुलो होड चलेको थियो। कुन गुटले धेरै मान्छे थुपार्न सक्छ भनेर, "मेरो गुटमा धेरै झोले छन्, मलाई आशिर्वाद दिनु, मलाई कुर्सीमा चडाइदिनु" भन्ने बिदेशी मालिक रिझाउने नाटक र नौटंकी मात्र थिए, ती सबै तथाकथित आमसभा। देशमा स्वतः स्फ्रुत रूपमा युवापिडि अहिलेको तन्त्र, व्यवस्था, सरकार,  संविधानले देश झन् ठुलो खाडलमा खस्ने अवस्था देखेर यसको बिकल्पमा राजतन्त्र चाहियो भन्दै सडकमा निस्की रहेका थिए। त्यो भीडमा कसैको लगानी छ कि भनेर खोजि पनि भए। तर त्यो भीड यथार्थमा स्वतः स्फ्रुत रहेछ भन्ने चाल पाए पछि, डा बाबुरामले युवापिडिलाई, “गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखाऔं” भन्ने अभिव्यक्ति सामाजिक संजालबाट व्यक्त गरेका थिए। कमल थापाले यहि दाउमा आफ्नो रोटि सेक्न निकै कसरत पनि गरेका थिए। तर उनको दोगला चरित्र बुझिसकेका युवा जमातले, "उनको पार्टीको झण्डा सहित त्यस प्रदर्शनमा घुसपैठ भयो, राप्रपा हाम्रो आन्दोलन तुहाउन लागि परेको छ" भन्ने अभिव्यक्ति दिएका थिए। साच्चै त्यो भीडले उथल पुथल ल्याउने सम्भावना पनि बोकेको थियो। त्यसैले त्यो भीड रोक्न नसके अहिलेको व्यवस्था र १२ बुँदे सम्झौता उल्टिने र इन्डो पश्चिमा शक्तिको नेपालमा प्रभाव हट्ने डर थियो। त्यसैले आफ्ना खेतालालाई सडक र सत्ता कब्जा गर्ने गरि प्रपन्च रचियो। त्यो प्रपन्च थियो २०७७ पौष ५ गतेको "संसद बिघटन"। संसद बिघटन पश्चात सडक, गाउँ गाउँ, सहर, नगर एवं माइतीघर सबै विदेशीका हलीको कब्जामा पुग्यो। सरकार त विदेशीले नै बनाएको हो। त्यसैले यो सरकारले विदेशीले जे जे बोल भन्छ त्यहि त्यहि मात्र बोल्छ। जे जे गर्न भनि आदेश पाउँछ, त्यहि त्यहि मात्र गर्छ। अब आजको लेखको मूल विषय तर्फ लागौं। 


२०७७ फाल्गुन ८मा बिराटनगरमा ओली पक्षको शक्ति प्रदर्शन, आमसभा आयोजना गरिएको थियो। त्यस कार्यक्रममा पूर्वी क्षेत्रको मान्छेलाई विकासको ललिपप बाँड्ने चक्करमा ओलीले आफ्नो पानिजहाजे नौटंकीको अर्को संस्करण "कोशीमा डुंगा दौडाउने" योजना सुनाए। सो क्रममा अरुण, तमोर र सुनकोशीको त्रिवेणी घाट नजिक कोशी नदीमा पर्ने खुवालुङ ढुंगाले ओलीको नौटंकी विकास परियोजनालाई अवरोध गर्ने भएकाले खुवालुङ फुटाउने, हटाउने र डुंगा कुदाउने कुराले चर्चा पायो। सोहि कार्यक्रममा केहि किराँती समुदायका देशप्रेमी नेपालीले यो परियोजना नेपालको पहिचान बिरोधि छ भन्ने कुरा पनि उठाए। तर त्यो भीडमा ओलीको स्पिकरमा जडान गरेको कमेडी मिक्सले देशप्रेमीको आवाज दबायो। 

त्यस लगत्तै बिभिन्न किराँत धर्म संरक्षणको लागि स्थापना गरिएका संघ संस्थाले बिज्ञप्ति, बिरोध प्रदर्शन, खबरदारी गर्दै आएका छन्। किराँती मात्र होइन देशको सबै संस्कृति बचाउन पर्छ, नेपालको पहिचान भनेको यँहाको विविध धर्म संस्कार हुन् भन्ने यथार्थ बुझेका अन्य समुदायका राष्ट्र प्रेमी नेपालीले पनि खुवालुङ बचाउन पर्छ भन्दै आवाज उठाई रहेका छन्। हामीले ३ ४ ओटा आलेखसमाधान सहितका विकासका अवधारणा पनि प्रकाशित गर्यौं। खुवालुङ संरक्षण (संघर्ष) समितिले प्रदेश मन्त्रिलाई ज्ञापन पत्र समेत बुझाई सकेको थियो। तर पनि क्रेन लगाएर त्यो शिला त्यँहा बाट हटाउने बारे चैत्र ६ गते सरकारले सुझाव पेस गर्यो। स्थानीयले समेत यो परियोजना आवश्यक छैन भन्दै छन्, देश र विदेशमा रहेका नेपालीले पनि बिरोध गर्दा गर्दै किन यो सरकारले सुन्दैन, मान्दैन ? किन कि….

यो सरकार, यो व्यवस्था र यो  संविधान बनेको नै नेपाललाई यँहाको मूल धर्म संस्कार बाट च्युत गराएर विदेशी धर्म लदाउनको लागी हो। नेपालीलाई जात र संस्कृतिको आधारमा संविधानमा नै झुण्ड झुण्डमा विभाजन गरिएको छ।  त्यसको उद्देस्य अर्कै छ। ती सबै झुण्डलाई बिस्तारै बिस्तारै हामी सबै अलग हो भन्ने मेन्टल प्रोग्रामिङ्ग(मानसिक प्रभाव) हावी गराइएको छ। अघिल्लो संविधानमा/व्यवस्थामा केहि त्रुटी अवस्य नै थिए होला तर अहिलेको जस्तो देशको पहिचान नै गुम्ने, देशमा गरिखाने माहोल नै नभएको, भ्रष्टाचार चुलिँदो गरि मौलाएको अवस्था भने पक्कै पनि थिएन। हालको संविधानमा गरिएको कित्ताकाट अनुसार सबैले आफु नेपाली होइन, बरु खस हो या आर्य या दलित या आदिबासी या सिमान्तिकृत या हिन्दु, या बौद्ध वा अनेक झुण्ड मध्ये कुनै एक हो भन्ने मानसिकता बनेको छ। 

हिन्दु धर्मावलम्बीलाई त माओवादी प्रयोग गरेर मार्ने, डराउने, तर्साउने काम गरियो। अहिले हिन्दुको आस्थामाथि अन्य नेपालीले नै प्रहार गर्ने माहोल बनि सक्यो। बौद्ध धर्म त लगभग अमेरिकी सीआइएको तिब्बत मुद्दाको आस्वाशनमा सकिन थालि सक्यो। करीब ८० प्रतिशत धर्म परिवर्तन बौद्ध धर्म मान्ने सामूदायमा भएको छ। नेपालमा आदिबासी भनेर गरिएको कित्ताकाटमा पर्ने प्राय सबैलाई इसाई बनाइएको छ। यसको लागी राजनीतिक पार्टीको पर्दा ओडाएर एमएनओ (मंगोल नेसनल अर्गनाइजेसन) आक्रामक रुपमा सक्रिय छ। बाहुन क्षेत्री बिरुद्ध बिष ओकल्ने र भित्र भित्र आदिवासी जनजाति समुदायको मूल धर्म संस्कार नामेट पार्ने एवं बाइबलको प्रचार गर्ने नै एमएनओको प्रमुख मंत्र हो। ग्याल्जेन दोर्जेले नेपाली झण्डा जलाउँदा गृह मंत्री राम बहादुर थापाले समेत २०३० सम्म नेपाललाई इसाई राष्ट्र बनाउने योजना एमएनओको रहेछ भन्दै बोलेको भिडिओ पनि सामाजिक संजालमा निकै चर्चामा आएको थियो। त्यो मिसनमा रोकावट भनेको किराँत समुदाय हो। जबसम्म किराँतीलाई नामेट पार्न सक्दैनन् एमएनओ को त्यो उद्देस्य पुरा नहुने भएकोले अब किराँती धर्म माथि प्रहार बढ्दो छ। 

किराँती सभ्यता मुन्दुममा अडिएको छ र मुन्दुम खुवालुङमा। यदि खुवालुङ नष्ट गर्न सक्यो भने मुन्दुम र किराँती धामी(नाग्छुङ्ग) परम्परा स्वतः नष्ट हुने छ किनकि हरेक नाग्छुङ्ग आफ्नो शक्ति आर्जनको लागी खुवालुङमा आएर साधना, अनुष्ठान गर्न पर्ने रीति रिवाज छ। पितृ, पुर्खाको लागी पनि खुवालुङमा आएर नै बाटो सम्झाइदिने परम्परा छ। यदि खुवालुङ शिला त्यँहा बाट गायव भएमा पितृ पुर्खाको रिति रीवाज, धामी फलाक्ने चलन चल्ती एवं साकेला र मुन्दुम को महिमा क्षिर्ण बन्ने छ। अर्थात् किराँत धर्म संस्कार नामेट हुने छ। त्यस पछि सजिलै किराँती समुदायलाई पनि धर्म परिवर्तन गर्न सकिने छ। यी सबै कुराको नाभी होलि वाइन, धर्म निरपेक्षता, गणतन्त्र, नयाँ संविधान र १२ बुँदे पश्चिमा डिजाइनमा गएर जुड्छ। 


नेपालीको एकता कत्तिको कम्जोर भयो भनेर जाँच्न बेला बेलामा विदेशीले आफ्ना प्यादा प्रयोग गरि चलखेल पनि गर्छन्। कहिले पनौतीको शिवलिंग फ़ोड्छन त कहिले रैछाकुलेको प्रतिमा। कहिले महागुरु फाल्गुनन्दको शालिक प्रहार त कहिले बुद्धको मुर्ति लडाउँछन्। कहिले पुजारी मार्छन् त कहिले किचकवध मेला रोक्छन्। कहिले खोकनाको प्राचिन नेवा: वस्ती मेटाउने जोड तोड प्रयत्न गर्छन् त कहिले गुठि परम्परा मेटाउने कुचेष्टा। र अहिले खुवालुङ फोड्ने योजना चल्दै छ।  कसरी? किन ? एक पछि अर्को नेपाली संस्कार, संस्कृति, जीवन पद्दतिमाथिको प्रहार दिनानुदिन बढ्दो छ ? यसको दोषी को ? बुझ्ने हो ? 


यसको दोषी हामी सबै नेपाली। हामी विविधतामा एकता, सर्वैकत्त्व, सहिष्णुता, एक अर्काको अस्तित्वको सम्मान रक्षा गर्दै हाल सम्म सबैको धर्म संस्कार जिवन्त राख्दै आएको आफ्नो धरातलीय यथार्थ बिर्सेर झुण्ड झुण्डमा फुट्दै छौं। बुद्धको मुर्ति फुट्दा नाक चुच्चे जति बोल्न खोज्दैनन्, पुजारी मारिँदा नाक न्याप्टेलाई मतलव हुन्न। नेवारको वस्तीमा डोजर चल्दा अरुलाई छुन्न। यहि हो कमजोरी, यहि विभाजनको फाइदा लिग्दै छन् विदेशीहरु। 


बुद्धको मुर्ति सारा नेपालीको हो, खुवालुङ सबै नेपालीको हो, फाल्गुनन्द हरेक नेपालीको हो, खोकना सम्पूर्ण नेपालीको हो, पनौतीको शिवमन्दिर प्रत्येक नेपालीको हो। नेपालको हरेक संस्कार बचाउने, सबैको अस्तित्वको रक्षा गर्ने दायित्व एक एक नेपालीको हो। सबैले सबैको लागि हातेमालो गरेर आवाज उठाऔं। तर नागरिकताको आधारले धेरै छौं नेपालीहरु, सच्चा नेपालीको कमी छ यो समाजमा आज। यहाँ बाहुन, क्षेत्री, दलित, मंगोल, हिन्दू, बौद्ध आदि नाममा विभाजन चल्दैछ तर देशले नेपाली माग्दैछ। यदि कुनै नेपालीले यो पढ्न भ्यायो भने, हामी संग जोडिनु होला।। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप) 



Comments

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।