माओवादी प्रायोजनको नालीवेली भाग-३ : कमजोर राष्ट्रियता, राष्ट्र विखण्डन हुँदै राष्ट्र विसर्जन।




कालान्तर देखि सबैको एकत्व सहित चलिआएको नेपाल देशमा देश,राष्ट्र र राज्य भनेको पर्यायवाची शब्द हुन्। अर्थात नेपालको हरेक भाषा, चलनचल्ती, जीवन पद्दतिमा देश,राष्ट्र र राज्य शब्दले एउटै अर्थ बोकेको छन्। अझै पनि राष्ट्र प्रेम र देश प्रेम एउटै मानिने देशमा राष्ट्रियताको गलत परिभाषा सहित देश फुटाउने कुनियतले नेपाल टुक्रा पारेर आफ्नो इच्छा अनुसार प्रयोग गर्ने उद्देस्य सहित पश्चिमाहरुले आफ्नो प्रणाली अनुसारको राष्ट्र भन्ने शब्दजाल माओबादिको माध्यमबाट अगाडि सारे। त्यसपछि सुरु भयो जातीयताको आधारमा देशको खण्डीकरण। 

नेपाल देशभित्र सधै एउटा मात्र राष्ट्रियता थियो त्यो हो नेपाली। माओवादी प्रायोजन संगै "फुटाउ र राज गर" सिद्धान्त अनुसार विश्वव्यापी फूट ल्याउँदै युद्ध, हिंसा गराएर सबैलाई कमजोर बनाई आफ्नो आधिपत्य जमाउने साम्राज्यवादीहरुले निर्माण गरेको राष्ट्रियताको परिभाषा नेपालमा पनि लाद्न सुरु भयो। बाबुराम, प्रचण्डले आफ्नो सत्ता प्राप्तिको महत्त्वकान्क्षा पुरा गर्नको लागि सहिष्णुता, सद्भाव र सर्वैकत्त्वको सुत्रलाई जीवन सुत्र मान्दै आएको नेपाली समाजमा जातको आधारमा राज्य बाँढ्ने भनेर बिभिन्न जात जातिलाई देश काटेर खान दिने राक्षसी सपना सुनाए। १२६ ओटा भाषा भाषिका, १३० भन्दा धेरै जात जाति भएको नेपालमा कुन कुन जातलाई के के बाँढ्ने? कुन कुन ठाउँलाई स्वायत्त घोषणा गर्ने ? यो कहिल्यै नसकिने बिखन्डनको कित्ताकाट, घृणा, द्वेष र क्लेशको बिजारोपणको लागि माओवादी प्रयोग गरिएको थियो।


नेपालमा एउटै राष्ट्रियता छ "नेपाली"। तर युरेपेली परिभाषा अनुसारको जात र भाषालाई आधार मानेर राष्ट्र बन्न पर्छ भन्ने विष बोकेर माओवादी नेपाल भरि विष घोल्दै हिँड्यो। गोपाल गुरुङ्ग दार्जिलिंगबाट आएर त्यसको जग बसाले। सुजन ह्याङ्गेन (अमेरिकी सोधकर्ता हाल रामापो विश्वविद्यालय निउ जर्सीको प्राध्यापक, "क्रिएटिङ्ग अ निउ नेपाल, द एथ्निक डाइमेन्सन"को लेखिका) ले सन् १९९०को दशकमा गोपाल गुरुङ्गले गरेको गतिविधिलाई प्राज्ञिक, जीवनशास्त्रीको अन्तर्राष्ट्रिय संरक्षण दिएर पश्चिमेली राष्ट्रियताको परिभाषाको आधार बनाउन थप मद्दत गरिन्। सुजन ह्याङ्गेन प्रयोग गरेर गोपाल गुरुङ्गले अपव्याख्य गर्दै घृणा फैलाउने उद्देश्यले तयार पारेको, "दशैंको टिकाको रातो भनेको आदिबासीको रगत हो", "दशैं भनेको अरुको चाड हो", "इन्डियनले आदिवासीलाई थिचो मिचो गरेको छ", "दशैं मान्ने बाहुन/क्षेत्री (देवाली/कुल पुजा गर्ने समुदाय), नेवार मगर, तराईबासी सबै इन्डियन सरणार्थी" आदि मनगणन्ते कथालाई ह्याङ्गेनको पुस्तक, सोधपत्रमा प्रलेखिकरण गराइयो। यसबाट नेपालमा घृणाको बिउको आधार निर्माण भयो। माओबादीलाई यसैको निहुमा जातीयताको आधारमा राष्ट्र बाँड्ने, देश बिखन्डन गर्ने मुद्दा बोकाइयो। 

तर नेपालीको रगतमा बग्ने सर्वैकत्त्वको गुण यँहाको हरेक धर्म, संस्कार, परम्परा, रितिरिवाज, ग्रन्थ लगायत सम्पूर्ण प्रकृतिले बोकेको छ। यँहाको खोलामा सर्वैकत्त्व बग्छ। यँहाको बनमा सर्वैकत्त्व फल्छ। यँहाको हावामा सर्वैकत्त्व बहन्छ। चाहे मुन्दुम होउस् या पिटक, चाहे वेद होउस् या गीता, चाहे लामा पद्दति वा पुरेत पद्दति। चाहे ल्होषार होउस् या दशैं, चाहे छठ होउस् या उधौली वा अनेकन रिथि तिथिमा समाज, परिवार, देशको हित सहित सबैमा शान्ति, मेलमिलापको नै प्रार्थनाका शब्द गुन्जिन्छन्। त्यसैले नेपालमा राष्ट्र खण्डिकरणको बिउले फल दिन, हुर्किन सकेन। तर पनि त्यो सडेको विषको बिउ अझै पनि रोप्ने कुचेष्टा सहित बाबुराम भट्टराई लागि परेका छन्। उनको जसपा नामको पार्टी देश भाँड्ने, देश टुक्राउने विदेशीको बिखण्डनकारी एजेन्डामा चालै नपाई अग्रसर छ। 

अलिकति राष्ट्रको भिन्नता बारे बुझौं। हाम्रो देशमा चलिआएको चिन्तन र जसपाले बोकेको पश्चिमेली परिभाषाको चर्चा गरौँ। 


नेसन र राष्ट्र

#नेसन_र_राष्ट्र सत्रौँ शताब्दीको युरोपमा केहि साम्राज्य रहने गर्थे। उनीहरु बीच करीब ३० बर्षसम्म धर्मको नाममा दैनिक लडाई चल्यो। क्याथोलिक/प्रोटेस्टेन्ट मतको आधारमा र पुरानो साम्राज्यको दुश्मनीको होडमा युद्ध चलि रह्यो। अस्ट्रियन, स्पेनिस र रोमन साम्राज्यको साथमा अन्य क्याथोलिक शक्ति एकातिर र स्विडेन, डेनमार्क र प्रोटेस्टेन्ट शक्ति अर्को तिर एवं फ्रान्स क्याथोलिक भए पनि अस्ट्रिया र स्पेन संग दुश्मनीको कारण फ्रान्स पनि प्रोटेस्टेन्ट गठवन्धनमै रहेर युद्ध चलेको थियो। सो युद्धले निम्त्याएको दमन, शोषण र क्षतिले त्यहाँ बस्दै आएका मानिसहरू आजित भए। त्यसपछि उनीहरु त्यो बेलाको विशाल साम्राज्यबाट छुटिएर कोहीसँग पनि नलाग्ने भनि आफ्नो भाषाको आधारमा राष्ट्र निर्माण गरे। तत्कालिन अवस्थामा युरोपको निश्चित भूभागमा कुनै एक विशिष्ट भाषा रहने परिवेश थियो। त्यसैले त्यो बेला सो सन्धिले सामाधानको मार्गप्रशस्त गर्यो। त्यसैको आधारमा नेसन भन्ने अवधारणा निर्माण भयो। जसअनुसार एकै किसिमको जात, भाषा, संस्कृति, धर्म इतिहास कुनै पनि देश भित्र वा भूगोल भित्र छ भने त्यो नेसन हो। हाम्रो भाषामा यस्तो व्याख्यालाई जनाउने शब्द सम्प्रदाय, समुदाय हो तर नेसनलाई राष्ट्र भनेर गलत उल्था गरिएको छ। नेसन शब्दको उत्पत्ति हेर्ने हो भने यसको यथार्थ उल्था; कुनै एक नस्ल, जाति, भाषिका, इतिहास बोकेको समुदाय/सम्प्रदाय/पन्थ हुन्छ। तर नेपालमा त्यहि नेसन शब्दलाई नै राष्ट्र भन्ने शब्दकै रुपमा स्थापित गर्न सबै सक्रिय देखिन्छन्। त्यसैले पहिले शब्द बुझौँ अनि मात्र शब्दजाल बुन्नेको पहिचान हुन्छ र त्यो जाल तोड्न पनि सकिन्छ। सन् १६४८को युरोपको द्वन्द, युद्ध रोक्न सो अवधारणाले मद्दत गर्यो। भाषाभाषीका अनुसार युरोपमा राष्ट्र निर्माण पनि भए स्पेनिसको स्पेन, इङ्ग्लिस भाषा बोल्नेहरुको लागि इङ्ग्ल्याण्ड, जर्मन भाषाको लागि जर्मनी, फ्रेन्च भाषाको लागि फ्रान्स, पोर्तुगालीको पोर्तुगल आदि आदि। हरेक देश एउटा एउटा भाषाको आधारमा बने। उनीहरूको परिभाषा अनुसारको राष्ट्रनिर्माण पहिले सान्धर्भिक रहेतापनि अहिले ती सबै खण्डिकरणको बिउ साबित भएका छन्। टुक्रिने क्रम रोक्नको लागि उनीहरुले एउटै राज्यभित्र विभिन्न राष्ट्र/राष्ट्रियता रहन सक्छ भन्ने परिभाषा पनि ल्याए। संघियता यसकै अर्को रुप हो। बहुराष्ट्रिय राज्यको नामाकरण एवं संघियता मध्ये जुन चिजलाई अंगाले पनि गन्तव्य टुक्रिने हो नाम र प्रणाली जे राखे पनि विखण्डनको बिउ बाट प्राप्त हुने भनेको टुक्रा नै हो। त्यसैको उपजले युरोपका विभिन्न देशहरूको टुक्रिने क्रम अघि बढेको बढ्यै छ। उपनिवेशवादीले त्यो अवधारणाकै प्रयोग गरेर "फुटाउ र राज गर"को आफ्नो पासामा हरेक देशलाई फसाउँदै गए। फलस्वरूप संयुक्त रुस १५ टुक्रा भयो, र हालपनि टुक्रिने क्रम जारी छ। इन्डिया र पाकिस्तान धर्मको आधारमा टुक्रियो, पाकिस्तान र बङ्गलादेश भाषाको आधारमा टुक्रियो, एक दशक अघि मात्र सुडान धर्मको आधारमा टुक्रियो। बलोच जाति पाकिस्तान, अफगानिस्तान र इरानमा छन् उनीहरु टुक्रिएर बलोचिस्तान भन्ने देश बनाउने उद्देस्य लिएर अघि बढ्दै छन्। त्यस्तै कुर्दिस्तान टुक्रिन खोज्दै छ। इन्डियामा पनि सात तिर बाट विभाजन चल्दैछ। ईथियोपियामा टिग्रे प्रदेश र केन्द्रिय सेना बिच युद्ध चलेको २ वर्ष हुन थाल्यो, यसको जरो संघियता हो। राष्ट्र निर्माणको त्यो अवधारणालाई बचाइराख्ने प्रयासमा युरोपमा पनि टुक्रिने क्रम जारी नै छ। नेपालमा एक तिर बाट नभए अर्को तिरबाट खेल्न एक राष्ट्र इतर संघियता हुने अवधारणा सहित केहि समुह छन् भने अर्को सिधै टुक्रिने भनेर बहु राष्ट्रको कुरा गर्छन्। यहि टुक्राउने विषको बिउ रोपेर नेपाली मानसिकतामा राष्ट्रियता कमजोर गराई राष्ट्र विखण्डन हुँदै राष्ट्र विसर्जन गराउने नियत नै माओवादीको प्रायोजन थियो। हाल माओवादीको अवस्था भुसिया कुकुर सरह कसैले नगन्ने बनेकाले, इण्डियन एवं युरेपेली युनियनका प्यादाहरुलाई राष्ट्रिय मुक्ति क्रान्ति भनेर, त्यहि युरेपेली परिभाषा सहित उचालिएको छ।


अब अलिकति हाम्रो नेपाल राष्ट्र बारे बुझौं।
सर्वैकत्त्व राष्ट्र

नेपालमा कालान्तर देखि देश, राष्ट्र, राज्य पर्यायवाची शब्द हुन्। उदारहणको लागी यी शब्दहरु हेर्न सकिन्छ। देशप्रेम, राष्ट्रप्रेम भन्ने शब्दले एउटै कुरा बुझाउँछ। त्यस्तै राजद्रोह, देशद्रोह, राष्ट्रद्रोह भनेको पनि एउटै अपराध बुझाउने शब्द हुन्। नेसन भन्ने चिजलाई हाम्रोमा समूह, समुदाय भनिन्छ। तर इस्ट इंडिया कम्पनीले इंडियामा नेसनको उल्था राष्ट्र भनेर गरायो। र त्यो नस्लीय चिन्तनलाई राष्ट्रिय चिन्तन भन्ने विचार बन्यो। नेपालमा  १२६  वटा भाषाभाषीका, सयौं थर, दर्जनौं जातजाति, धर्मसंस्कृति, मान्ने समुदायहरु भए पनि सबैजना एकता मै सर्वैकत्त्वको भावमा बाँची आएका हुन्। नेपाल राष्ट्र निर्माण प्रक्रियामा हरेक जातजातिको उत्तिकै योगदान, त्याग र बलिदान छ। 


नेपाल राष्ट्रलाई साम्राज्यबादीहरु बाट बचाउन र यँहाको मौलिक जीवन पद्दति, धर्म संस्कार संस्कृतिको रक्षा गर्न हरेक नेपाली सहिष्णुता, सर्वैकत्त्व, सद्भावको साथमा मिलेर रही आएका छन्। राष्ट्र एकीकरण नगरे साम्राज्यवादीले सबै कब्जा गर्ने छन् भन्ने चेतना त्यस बेला पृथ्वी नारायण शाहमा आयो र उनले राष्ट्र बचाउने अभियान आरम्भ गरे। हरेक जात जाति धर्म संस्कार सबैलाई यो देश प्रति उत्तिकै माया थियो त्यसैले गुरुङ्ग, मगर, शिल्पी, बाहुन, क्षेत्री, नेवार, किराँत र अन्य सबैले त्यस बेला एकीकरणको लागी योगदान दिए। बङ्गालबाट मिर कासिमले आफ्नो राज्य फैलाउँदै, वरीपरिका सानो राज्य कब्जा गर्दै नेपाल पसेको थियो। मकवानपुर कब्जा गर्ने योजना सहित आएको मुगललाई त्यसबेलाका योद्धाले न रोकेको भए अहिले नेपालको सबै धर्म संस्कार, जीवन पद्दति के हुन्थ्यो होला?  इन्डोनेसिया संग सिक्न सकिन्छ। यति मात्र होइन, अंग्रेजलाई पनि सबै नेपाली मिलेर रोकेका थिए। एक जातले मात्र त्यो गर्न सक्ने सम्भावना थिएन। त्यसैले नेपाल एक जातीय, एक नस्लीय किसिमको युरेपेली राष्ट्रको परिभाषामा अटाउन सक्दैन। नेपाल सबैको एकत्त्वले बनेको राष्ट्र हो। नेपाल सर्वैकत्त्व राष्ट्र हो। 


त्यसैले माओवादीको माध्यमबाट लागु गराउन खोजिएको युरेपेली नश्लीय, जातीय राष्ट्रको प्रयोग यँहा चल्न सकेन। तर अझै पनि नेपालीको  दिमाग भुट्न छोडेका छैनन्। गोपाल गुरुङ्गले समेत आफ्नो जीवनको उत्तरार्धमा, "मलाई पवन चामलिंगले प्रयोग गर्यो। उसले मलाई बाहुन क्षेत्री बिरुद्ध पुस्तक लेख्नु, प्रचार गर्नु भनेर भन्यो, मैले त्यहि गरेँ। अहिले मलाई मार्ने योजना गर्दै छ। म दार्जिलिंग नफर्किने, अब नेपालमै बस्ने। " भनि बताएका रहेछन्। तर पनि उनको त्यो पुस्तकमा उल्लेख गराइएका मनगणन्ते कथाकै जगमा घृणा र बिखन्डनको आधार बनाउने प्रयास चल्दै छ। भनिन्छ नि एउटै असत्य बारम्बार दोहोराईदिने हो भने मानिसले त्यसैलाई सत्य ठान्छ, त्यसैअनुसार थुप्रैको दिमाग पनि भुटिएको अवस्था छ। समाजशास्त्री (एन्थ्रोपोलोजिस्ट) को नाममा आइएनजिओ र विदेशीहरुले युरेपेली परिभाषा अनुसारको राष्ट्र,राष्ट्रियता नेपालमा स्थापित गराउन धेरै मलजल गरेका छन्। 


माओवादी त्यसैको मतियार हो, उनीहरुले दिमाग भुट्न नभ्याएका मानिसहरुलाई जातको आधारमा संघीयता भन्ने नारा चर्काउन लगाएका छन्। माओवादीबाट त्यो काम नहुने देखिएकाले मंगोल नेशनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी, थारुहट आदि पार्टीहरु अगाडि ल्याउँदैछ। जनता समाजवादी पार्टीले, "नेपाल बहुराष्ट्रिय राज्य हो", भनेर पार्टी एकीकरणमा आफ्नो मूल एजेन्डा नै राष्ट्रियताको युरोपेली परिभाषाको आधारमा देश टुक्र्याउने नियत पालेको बुझ्न गाह्रो छैन।  

अहिले उनीहरु दिमाग भुट्ने नियतले पहिचान जातियताको मुद्दामा हल्ला गर्दै छन्। तर आतंक मच्चाएर, पहिचान बोकेका थान, मन्दिर, जीवन शैली मेटाएर  पहिचान बाँच्दैन। पहिचान बचाउन आफ्नो मुल धर्म संस्कृति, रीतिरिवाज, परम्परालाई बोकेर हिँड्नुपर्छ। र नेपालको पहिचान भनेको सर्वैकत्त्व राष्ट्र हो। 


नेपाली समाजमा सर्वैकत्त्व बारे गरिएको सोध।


सर्वैकत्त्व राष्ट्रको बहसको लागि हामीले भिन्न जात, संस्कृति र भौगोलिक क्षेत्रका १३४ नेपालीलाई निम्न अनुसारको सोध गरेका थियौं। सोध अझै जारि छ। 


पढे लेखेका होउन् वा अनपढ होउन्, जुन सुकै जात भाषाका होउन्, मुन्दुम, पिटक, वेद लगायत धार्मिक ग्रन्थ पाठ गरेका होउन् वा साधारण धर्म संकार गर्ने तर शास्त्र सम्बन्धि खासै ज्ञान नभएका होउन्, जन जनलाई यी प्रश्न सोध्ने क्रममा एकै उत्तर आयो। 

१ हजुरको विचारमा देशप्रेम, राष्ट्रप्रेम भनेको एकै हो वा फरक ? फरक भए के कस्तो फरक ? 

२ राजद्रोह, देशद्रोह, राष्ट्रद्रोही भन्ने शब्दले के बुझाउँछ ? एकै हुन् वा फरक? फरक भए के कस्तो फरक ?

३ देश, राष्ट्र र राज्य भनेको एकै हुन् वा फरक हुन् ? फरक भए के कस्तो फरक ?

४ हजुरले दिएको उत्तर कसैले बताएको सुनेर हो ? वा पुस्तक पढेर वा आफुले देखेको भोगेको, बुझेको आधारमा हो ?


१३४ व्यक्ति मध्ये १२८ व्यक्तिबाट एकै उत्तर आयो। उत्तर: देश,राष्ट्र र राज्य भनेको एकै हो। यी कुरा हाम्रो देशमा कालान्तर बाट चलेको छ। यो कसैको पुस्तक भाषण बाट होइन सबै नेपालीलाई सानै बाट बोध भएको, बोलि-चालीमै स्थापित सत्य रहेछ।

बाँकी ६ जनाले पश्चिमा प्रभावमा परेका केहि नेता ज्युहरुको भाषण र समाजवादी पार्टीका दस्तावेज पढ्नु भएको रहेछ। जसको आधारमा राष्ट्र भनेको जात, नस्ल हो। र जात को आधारमा राष्ट्र हुन पर्छ भन्ने उत्तर प्राप्त भयो। तर ती दस्तावेज र भाषण सुन्न अघि उहाँहरु नेपाली मौलिक चिन्तन अनुसारको राष्ट्र, देश र राज्य एकै हुन् भन्ने सोचमा हुनुहुन्थ्यो।


यसबाट पनि पुष्टि हुन्छ सर्वैकत्त्व राष्ट्र चिन्तन कसैको पुस्तक, लेख र भाषणमा होइन यो विचार सबै नेपालीको रगतमा बहेको छ। यँहाको प्रकृतिले दिने ज्ञान नै सर्वैकत्त्व हो। 

यसलाई थप पुष्टि गर्न हामीले अर्को प्रश्न पनि राख्यौं। 


५ तपाईंको राष्ट्रियता के हो ? सबैको उत्तर "नेपाली" नै आयो। 


नेपालको पहिचान भनेको सर्वैकत्त्व राष्ट्र हो। 


अर्को उदारहण: केहि साता अघि एक जना आमा (श्रीधरा केसी)को विचार सामाजिक संजालमा धेरैले रुचाएका थिए। उँहाले राष्ट्र नेपालमा छैन, दिल्ली, चिन, अमेरिका पुग्यो। देशको लगभग सबै निर्णय विदेशबाट गरिने अवस्था छ एवं नेपालको पहिचान, मौलिकता गुम्ने दुरावस्था बारे पनि विचार व्यक्त गर्नु भएको थियो। उँहाको विचारको सार नेपाल देशमा राष्ट्र, देश र राज्य सधैं एकै थिए, र पहिचान सबैको एकै थियो 'नेपाली'।


तसर्थ नेपाल सर्वैकत्त्व राष्ट्र हो।


नेपाल आमाको जय

जागुन राष्ट्रिय गाथा। सर्वैकत्त्व भवतु:

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


माओवादी प्रायोजनको नालीबेली भाग १: धर्म संस्कृति


माओवादी प्रायोजनको नालीबेली भाग २: मनोवैज्ञानिक चलखेल


Comments

  1. राम्रो, ज्ञानबर्धक छ, यसको निरन्तरता चाहन्छु । धन्यवाद ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।