समस्याको स्वरूप भिन्न, तर आन्तर्य एकै। समाधान भूमि-काल सापेक्ष गतिशिलता।



खोकना बुङ्गमति क्षेत्रमा हरेक साल रोपाई गर्ने बेला स्थानीय र सरकार विच तनाव बारे समाचार आइरहन्छ। फास्टट्रयाक परियोजनाले निम्त्याएको सो विवादको अन्त्य नगरी, पूर्वी नेपालमा विकासको भाषण दिने क्रममा प्राचिन किराँती सभ्यताको मेरुदण्ड मानिने खुवालुङ्ग शिला पनि हटाएर डुंगा दौडाउने योजना सुन्नमा आयो। प्रधानमंत्रीद्वारा विराटनगरमा गरिएको कथित शक्ति प्रदर्शन/आम सभामा आगामी चुनावमा आफ्नो पकड पूर्वी क्षेत्रमा जमाउने उद्देश्य वा नेपाल राष्ट्र्को महत्त्वपूर्ण स्थम्भ किराँती सभ्यता मास्ने दाउ?? यी दुइ कोण बाट त्यो अभिव्यक्ति प्रकट भएको मान्न सकिन्छ।सो परियोजनाको किराँती धर्म संस्कार सम्बन्धि संस्थाहरुले आपत्ति जनाउँदै आएका छन्।  खुवालुङ्ग संरक्षण(संघर्ष) समिति पनि गठन गरेर बिभिन्न माध्यमले सो मौलिकता नाशक परियोजनाको विरोध र खुवालुङ्ग संरक्षणको पहल गर्दै पनि आइरहेका छन्। सो घटनाको २ हप्ता नबित्दै रुपन्देहीमा दुरुस्तै शैलीको अवस्था सृजना भएको छ।

शिलापत्र अनलाइन पत्रिकामा विकाश पराजुलीले लेखेको समाचार अनुसार, "रूपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास कार्यक्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको छ । तनाव बढ्न थालेपछि प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेल मन्तव्य दिँदादिँदै छाडेर शिलान्यास स्थलबाट बाहिरिएका छन् । स्थानीयको अवरोधका बीच अर्थमन्त्री पौडेलले औद्योगिक कोरिडोरको शिलान्यास गरेका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयको व्यवस्थापन नगरी औद्योगिक कोरिडोरको शिलान्यास गर्न लागेको भन्दै कार्यक्रमस्थलमा स्थानीयले नाराबाजी र धर्ना दिएका थिए ।"

सधैं स्थानीय समुदाय  सरकार विचको बढ्दो विवाद हटाउन तर्फ खासै मानिसको ध्यान गएको पाइन्न। प्राय जसोले विरोधमा उत्रेकालाई विकास विरोधी भन्ने संज्ञा दिने गरेको पाइन्छ।  तर यो समस्याले विकास विरोधी र समर्थनको मानासिकता मात्र नभई बिभिन्न अवयवको सम्बोधन खोजेको हुन्छ। यस लेखमा समाधानको प्रयत्न गरेका छौं। 



विकासको मार्ग चित्र भूमि-काल सापेक्ष  गतिशिलता


समाज विकास, पूर्वाधार निर्माण, अर्थ नीति र मानव जीवन संग सम्बन्धित सम्पूर्ण भौतिक आयाम मात्र नभई मानसिक एवं आध्यात्मिक अवयवको निर्धारण गर्ने हेतुले यस अवधारणा प्रकटीकरण भएका हुन्। यँहा उल्लेखित प्रत्येक शब्दले सम्पूर्ण पक्षको सम्बोधन गर्दै प्रगति/ उन्नति/ गति/ स्थिरता आदिको आवश्यकता वोध गराई यथार्थ परक मार्गदर्शन प्रस्तुत गर्ने उद्देश्य राख्छ। विज्ञानको प्रत्येक अवयवको सुत्रिकरण गर्ने प्रकल्पनामा आइन्स्टाइनले स्पेस टाइम(दिक्काल) बारे उल्लेख गरेका छन्। त्यसमा स्पेसको तिन आयाम र समयको एकतर्फी गतिशीलता अर्थात् समय अगाडी मात्र बढी रहन्छ भन्ने आधार छ भने, यहाँ बताउन खोजिएको भू-काल सापेक्ष गतिशीलतामा त्रिआयामिय समय(भुत, बर्तमान र भविष्य) र 'भू' को अर्थमा जमिन, पृथ्वी, धरातलीय यथार्थको अवस्थिति लाई अङ्गालिएको छ। 


शाब्दिक तात्पर्य 

'भू' शब्दले भुमी, प्रकृति, धरातल, जनाउँछ भने 'काल' शब्दले त्रि-आयामीक समय (भुत, बर्तमान र भविष्य) जनाउँछ। भू र काल दुई तत्त्वको अधिनमा नै जगत चलेको छ। त्यस कारणले यी दुईको सापेक्ष रहेर हरेक गतिविधि गर्नु नै अनुकुल हुन्छ। जगतको बहावसंग सामन्जस्य अथवा प्राकृतिक प्रक्रियाको नियमानुकुल नै सृष्टि रहने धुर्व सत्यनै यस अवधारणाको प्रेरणा हो।


भौतिक(समाज) विकासमा भु-काल सापेक्ष गतिशिलता

भू-काल सापेक्ष गतिशीलता अन्तर्गत भौतिक विकास गर्दा भूगोल, पृथ्वी, धरातल, प्राकृतिक बनोट, आफ्नो धरातलीय यथार्थलाई स्मरणमा राखी कालको त्रिआयामलाई मध्ये नजर गर्दै निर्माण, विकास, प्रगतिको पथमा कदम चाल्ने अभिप्राय व्यक्त भएका छन्। कालको त्रिआयम भन्नाले भुतकाल (इतिहास)को अस्तित्व बचाव हुने, बर्तमानको आवश्यकता पूर्ति हुने र भविष्यको जोखिम, बिपत्ति, संकट बारे पनि वैज्ञानिक अध्ययन, आँकलन गर्ने र त्यस पछि मात्र हरेक पक्ष(भौतिक तथा माससिक विचारधारा) निर्माण प्रक्रियालाई आवश्यकता अनुरुप गतिशील गराउने निर्देशन गर्छ। आफ्नो भू-बनोट, देश, समाजको इतिहास र समयको परिवेशलाई सापेक्ष राखेर हरेक विकास, निर्माण नीति ,योजनाको मार्गचित्र तय गर्नु नै यस अवधारणाको मूल आसय हो।

विकास निर्माण, पुनरुत्थान, पुनर्निर्माण गर्ने क्रममा मुख्यतयः  हरेक कोणबाट निम्न अवयव सापेक्ष चिन्तन हुन जरुरी छ।

१ आफ्नो मूल संस्कृति 

मय/युगको अवस्था/आवश्यकता

३ भूबनोटको अवस्था 

४ प्रकृति/स्रोत संसाधन 

५ मानव स्वास्थ्य/जीवन

६ समाज प्रधान (आफ्नो समाजको मुख्य आवश्यकता के हो, स्थानीयले निर्णय गर्ने पद्दति)

धरातलीय यथार्थ(आर्थिक सामर्थ्य)


यी अवयव मध्ये यदि कुनै कोण बाट कुनैलाई प्रतिकुल हुने अवस्था रहेमा त्यस्ता आयोजना/परियोजना, नीति आदिको पुनः अवलोकन, पुनः अध्ययन गरी पुनर्लेखन गर्न जरुरी हुन्छ। 

प्रकृतिको परिवर्तनशिल नियमलाई आत्मसाथ गर्दै पहिले कुन जमानामा केहि कारण अनुसार कस्ता कुराहरु उल्लेख भएका थिए ? के-कस्ता विचार र व्यवहार हुन्थे ? ती कुराहरुलाई हालको समयअनुसार पुनर्व्याख्या गर्दै परिमार्जन सहित अगाडि बढ्ने कुरालाई पनि यँहा बताउन खोजिएको छ। 

उदारहण:

इतिहास वा प्राचिन कालमा खुलामा दिसा गर्ने प्रचलन थियो भन्दै शौचालय निर्माण नगर्ने विचार त्याग्न सक्न पर्छ। तर निर्माण गर्ने बेला जमीन(भू बनोट) को पनि मुल्याङ्कन गरिन पर्छ। त्यसको कारण कुनै प्राकृतिक स्रोत साधन लोप वा लोपान्मुख हुने अवस्था छ वा छैन ? यसको निर्माणले  मानव जीवन लिने वा न लिने के अवस्था छ ? स्वास्थ्यमा के असर पार्ला ? समाज/समुदायको हित गर्छ वा समाजले नखोजेको परियोजना हो ? त्यसको लागि आर्थिक श्रोत देशले थेग्न सक्छ वा ऋण खोजेर गर्न पर्ने हुन्छ ? सो ऋण तिर्न सकिने छ वा छैन ? कति समय लाग्ला ? आदि आफ्नो धरातलीय यथार्थ पनि बुझ्न पर्ने हुन्छ। यी सबै पाटो नियाल्ने र मात्र त्यो निर्माण सम्पन्न गर्ने वा न गर्ने भन्ने कुरा प्रष्ट हुनेछ।


कुनैपनि परियोजना सूचारु गर्ने बेलामा उल्लेखित अवयवको पारस्परिक अध्ययन, सोध, खोज, अनुसन्धान बाट मुल्याङ्कन गरेर मात्र अगाडि बढ्नुपर्ने मान्यतालाई यँहा जोड दिइएको छ । उदाहरणको लागी  काठमाडौंको सडक विस्तारलाई हेर्न सकिन्छ। सडक विस्तार अहिलेको आवश्यकता हो। त्यो गर्नेक्रममा आफ्नो धरातलीय यथार्थ अर्थात् आर्थिक पाटो के छ ?कसो छ? गच्क्षले थेग्छ वा थेग्दैन ?  यो कुरा पनि संग संगै सोच्नुपर्छ। उक्त परियोजना गर्दा मानव स्वास्थ्य र जिवन लाई के-कस्ता असर गर्छ ? कालान्तर देखि चलिआएका सांस्कृतीक सम्पदाको संरक्षण हुन सक्छ वा सक्दैन ? यसबारेमा पनि चिन्तन आवश्यकता हुन्छ। कुनैपनि अवयवको अस्तित्व नामेट् नहुने गरि स्रोत संसाधन प्रकृतिको विनास न्यून हुने वा त्यसको पुनरुत्थान गर्न सकिने सम्भावना बारे बुझेर मात्र अघि बढ्नुपर्छ। प्राचीन वस्ती सम्पदा सांस्कृतिक धरोहर भत्काएर जान पर्ने विचार कुतर्क ठहर्ने छ। त्यस अवस्थामा ती क्षेत्रमा सडकलाई साँघुरो र अन्य क्षेत्रमा फराकिलो गराउन सकिन्छ। अथवा आकाशे पुल(ओभरहेड ब्रिज) बारे ख्याल राख्नुपर्ने हुन्छ। भीमकाय परियोजना गर्नु उचित अनुचित भौगोलिक बनोटले निर्धारण गर्छ जस्तै भुकम्प, पहिरो आदि मानव नियंत्रण माथिका प्राकृतिक घटनालाई सोंचेर अघि बढ्न पर्ने हुन्छ। समुदायको भुमि प्रयोग हुन्छ भने सबैलाई उचित मुअब्जा दिने वा अन्य वार्ता बाट समाज प्रधान रहने अवयवको मध्येनजर गर्न पर्ने हुन्छ। हाल विकसित मुलुकमा पनि यी यस्ता विधि नै चल्दै गरेको देख्न सकिन्छ।


हरेक कोणको जोखिम र सकुशलता मापन गर्ने विधि आधुनिक विज्ञानले पनि अपनाएको अवस्था हो। 

भु-काल सापेक्ष गतिशिलता हरेक जिव प्रकृति र विज्ञानमा पनि देख्न सकिन्छ। डार्बिनले क्रम-विकासको सिद्धान्तमा भु-काल सापेक्ष गतिशिलतालाई म्युटेसन/ अड्याप्टेसन भनेर व्यक्त गरेका छन्। धार्मिक कोणबाट हेर्ने हो भने गौतम बुद्धले परिबर्तन नै एकमात्र अपरिवर्तनीय सत्य हो भनेर व्यक्त गरेका छन्। गीतामा रुपान्तरणको उदारहण सहित व्यक्त भएको छ। आधुनिक सिद्धान्तकार, विचारक र दार्शनिक मानिने मार्क्स् , हेगेलमा पनि कहीं कतै भू-काल सापेक्ष तिर अग्रसर भएको भान पाइन्छ तर सर्वैकत्त्व भावको कमिले गर्दा ती अपूर्ण र असान्दर्भिक भएका छन्। सर्वैकत्त्व दर्शनमा निषेधको, टकरावको, द्वन्द, संघर्षको चिन्तन भन्दा माथि उठेर एकताको अनुशरण, अनुकरणको अभिप्राय छ। अरुलाई नष्ट गरेर आफूमाथि भईन्छ भन्ने संकीर्ण चिन्तनले द्वन्दात्मक भौतिकवाद प्रकट भएको हो। द्वन्द्वात्मक भौतिकवाद प्रतिस्पर्धा एवं निषेधको घृणा र हिंसामा आधारित मानसिकताको चपेटामा परेर प्रकट हुने  विचार हुन्। त्यसैले यस्तो चिन्तनबाट माथि उठाउँन भूमि-काल सापेक्ष गतिशीलता को आवश्यकता पर्न जान्छ।


यो जगत प्रकृति स्वयम गतिशील छ र परिवर्तनशिल छ। सर्वैकत्त्व दर्शनमा प्रकृतिलाई र सृष्टि उत्पत्तिको नियमलाई आत्मसाथ गर्दै अगाडि बढ्ने कुरा प्रक्कथनमा उल्लेख भैसकेका छन्। त्यसैले हरेक धर्म सिद्धान्त विचार आचरण दृष्टिकोण भु-कालसापेक्ष बन्न जरुरी हुन्छ। यसो हुन बन्न नसकेमा/नमानेमा आफै आफ्नो अस्तित्वको मूलभूत सिद्धान्तको विपरित गए सरह हुनेछ। तर यसमा आफ्नो मूलभूत पहिचानको जगेर्ना पनि रहेको हुन्छ।  माथि उल्लेखित सातअवयवले यसको व्याख्या गरि सकेको छ। यसै आधारमा आफ्नो मूलभूत पहिचान लाई अंगालेर समय अनुसार परिवर्तन अपनाउन जरुरी हुन्छ। प्राचीन समयमा त्यसबेलाको समाज, मानवीय व्यवहार, आफ्नो अस्तित्वको संरक्षणका लागि  निर्माण भएका/ दिइएका ग्रन्थ,पन्थ जीवनपद्धति, धर्म, नीति, नियम आदि सोहि बेला कै अवस्थालाई नै सम्बोधन गर्नको लागि थिए भन्ने कुरा बुझ्न जरुरी हुन्छ। र अहिलेको समयमा ती सबै कुराहरु अँगालेमा मानव सभ्यतालाई नकारात्मक असर पार्ने देखिएमा ती कुरालाई परिमार्जन गर्न सक्नु पर्छ भन्ने कुरा पनि भू-काल सापेक्ष गतिशीलता हो। 

उदारहणको लागि प्राचिन समयमा हर क्षण युद्ध हुन्थे त्यसैले आफ्नो समुदायको अस्तित्व बचाउन जिहाद/क्रुसेड धर्मपरिवार्तनको पनि आवश्यकता थियो। तर वर्तमानमा विश्व घुलमिल भैसकेको अवस्था छ। सबैलाई आफ्नो धर्मको माताहतमा लिएर आउन पर्छ भन्ने चिन्तन अबको युगानुकुल छैन। सबैको अस्तित्व को जगेर्ना गर्न पर्छ। त्यसैले जिहाद/क्रुसेड धर्मपरिवार्तनलाई अब मुल सिद्धान्तको रुपमा लिएर अगाडि बढ्न मुर्खता सिद्ध हुन्छ। जसरी ब्रह्माण्ड प्रत्येक पल फैलिरहेको छ, फराकिलो बन्दै गइरहेको छ, त्यसरी नै आफ्नो चिन्तनको परिधी, हृदयको आकारलाई पनि फराकिलो, सबै अट्ने, सबैलाई अंगाल्न सक्ने बनाउन जरुरी छ। मेरो धर्मको माताहातमा तिमी आउन पर्छ भन्ने कुरालाई मुख्य सिद्धान्त बनाएर हिँड्दा करोडौँ मानिसहरु मारिएका छन्। सामुएल हनटिङ्ग्टनको "सभ्यताको टकराव" पनि त्यही चिन्तनलाई जित्न नसकेर उजागर भएको व्याख्या हो। पूर्वीय दर्शनलाई मात्र अंगालेर हिड्न पर्छ भन्ने व्याख्या पनि दिने गरिएको छ। कतै मेरो धर्म/पन्थ/सभ्यता/संस्कृति उच्च, अरु सबै तुच्छ भन्ने चिन्तनले हावी भएर विभिन्न दर्शन/सिद्धान्त निर्माण पनि भइरहेका छन्। जसले अझै पनि फराकिलो हुन नसकेको संकीर्ण मानसिक अवस्था झल्काउँछ। त्यसैले समयसापेक्ष भएर ब्रह्माण्डको गतिशीलता, फराकिलो हुँदै गइरहेको अवस्था लाई आत्मसाथ गर्न सक्नु नै भू-काल सापेक्ष हुनु हो।


विचारको उत्पत्ति

विचारको उत्पत्ति बारे विभिन्न चिन्तनहरू व्यक्त छन्। सर्वैकत्त्व दर्शनमा विचारको उत्पत्ति चेतनाको अवस्थिति अर्थात ट्युनिङ्गले निर्धारण गर्छ भन्ने मान्यता छ। विचार ब्रम्हाण्डमा आफै बगिरहेको हुन्छ। जो मान्छेको चेतनाको अवस्थिति जता तिर, जेमा भएको हुन्छ, त्यसै सम्बन्धि विचार उसले प्राप्त गर्छ। उदाहरणको लागि निकोला टेस्लाले आफु केवल माध्यम र आफ्नो मस्तिष्क कुनै उपकरण सरह हो जसमा प्राप्त हुने विचारको श्रोत अन्यत्र ब्रह्माण्डमा छ भन्ने चिन्तनले पनि यहि अवधारणा झल्काउँछ। आफ्नो चेतना ब्रह्माण्डमा बगिरहेको विचारसँग जब एकत्व हुन्छ तब नै विचार उत्पन्न हुन्छ। यहि एकत्त्व नै ट्युनिंग मिलेको अवस्था हो। हरेक मान्छेले यो आफ्नो जीवनमा भोगेको हुन्छ।  कहिले कसो आफ्नो विचारमा भएका कुरा आफ़ुले अहिले सम्म न पढेको,न देखेको, न सुनेको कसैको पुस्तक वा मन्तव्यमा प्रकट भएको पाइन्छन्। उदारहण: केहि दिन अघि एक जना आमा (श्रीधरा केसी) को विचार सामाजिक संजालमा धेरैले रुचाएका थिए। उँहाले राष्ट्र नेपालमा छैन, दिल्ली, चिन, अमेरिका पुग्यो। देशको लगभग सबै निर्णय विदेशबाट गरिने अवस्था छ एवं नेपालको पहिचान, मौलिकता गुम्ने दुरावस्था बारे पनि विचार व्यक्त गर्नु भएको छ। उँहाको विचारको सार नेपाल देशमा राष्ट्र, देश र राज्य सधैं एकै थिए, र पहिचान सबैको एकै थियो 'नेपाली'। । ती आमाले कसैको पुस्तक पढेर सो अभिव्यक्ति दिएको पनि होइन। तर कहीं कतै कसै संग मिल्न जान सक्छ। सो विचार वोंहाको मस्तिष्कमा राष्ट्र प्रति प्रेम, चाँसो र लगाव भएकाले सोहि अनुसारको ट्युनिङ्ग मिलेर प्रकट भएको हो।

विचारको स्रोत पुस्तक हुन् भन्ने पुस्तक व्यापारी र स्वतन्त्र चिन्तनलाई निस्तेज पार्ने धृष्टहरुको कुनियत हो।

विचारको उत्पत्तिलाई चार तहमा वर्गीकरण गर्न सकिन्छ। अपार जुन बिन्दु बाट सृष्टिको उत्पत्ति भयो भनेर मानिन्छ जसलाई आदि नाद ऊँ, बिग ब्यांग, सिन्गुलारिटी, शुन्यता र अन्य थुप्रै नाम दिइएको छ। सोहि बिन्दु बाट नै विचारको उत्पत्ति हुन्छ। ब्रह्माण्डीय जब अपार तह बाट उत्पत्ति भएका विचारहरु ब्रह्माण्डमा व्याप्त हुन्छन् र ब्रह्माण्ड भरि बहन्छन्। मानस जब हाम्रो ट्युनिंग(एकत्त्व)ब्रह्माण्डीय विचार संग हुन्छ र हाम्रो मानसमा त्यो विचार उत्रन्छ वा प्रवाह हुन्छ। अभिव्यंजक जब विचार वाणी(संवाद) वा लेखनीको माध्यमबाट अभिव्यक्त हुन्छ।

विचार उत्रिए पछि त्यो संग अन्य व्यक्तिले पनि केहि बताएका छन् कि भनेर सो सम्बन्धित पुस्तकहरु पनि खोजेर अध्ययन गर्ने रुचि निर्माण हुन्छ। सो क्रममा पनि नयाँ सुचनाले विचार निर्माणमा सहयोग गर्न सक्छ, नयाँ जानकारी भर्न सक्छ। यदि तथ्य हुन् भने स्रोत सन्दर्भ सदैव चाहिन्छ। आफु संग मिल्दो विचार कहीं कतै लेख,आलेख, पुस्तक वा मन्तव्यमा प्रकट गर्दा, यदि कुनै पुस्तक पढे पछि आएको प्रेरणा हो भने त्यसको इमान्दारीपुर्वक उल्लेख गराउन पनि पर्छ। तर विचार स्वउत्पत्ति हुन सक्दैन भन्ने प्रतिमान बदल्न सक्न पर्छ। विचार पुस्तक नपढे सम्म, कसैको मन्तव्य नसुने सम्म, लेख आलेख न पढे सम्म बन्दैन, आउन सक्दैन, निर्माण हुँदैन, प्राप्त हुँदैन र प्रकट हुन सक्दैन भन्ने सोँच वैचारिक उपनिवेशवाद हो। तर आफुले व्यक्त गरेको विचार, हरेक स्वरूप (मन्तव्य, लेख आलेख, पुस्तक)मा, यदि कोहि कसैको प्रेरणा वा सुचनामा आधारित छ भने त्यसको बारे नबताउनु पनि वौद्धिक दरिद्रता हो। यदि कुनै विचारमा आफ्नो स्वामित्व बनाउने उद्देस्य छ भने, या त हरेक देशको हरेक भाषा, हरेक कुनामा रहेका पुस्तक एक पटक पढेर, त्यो विचार कहीं, कतै छैन भने मात्र आफ्नो भन्न सकिन्छ। तर त्यसो नगरीआफु संग मेल खाने भाव कहीं कतै लेखिएको छ भने त्यसमा आफुलाई उद्घृत गरेन भनेर रुदन गर्नु, मुद्दा हाल्नु, स्वामित्वको लागि लड्नु भनेको क्षुद्र अवस्था हो। उसले विचार निर्माणको सर्वैकत्त्व विधि नबुझेको अवस्था हो।


भौतिकवादी चिन्तकहरुले संघर्ष बाट नै उत्पत्ति हुने अभिव्यक्तिहरू दिएका छन्। त्यसमा उदाहरणको लागि जौंको बिउलाई उम्रन अगाडि संघर्ष गर्ने र बिउ नष्ट भए पछि मात्र पालुवा बन्छ भनेर उदाहरण दिईएको छ। तर वास्तवमा त्यो पालुवा प्रस्फुटन संघर्षको कारणले होइन एकत्वको कारणले घटित हुन्छ। जब हावापानी मल जल, र विउको एकत्व अवस्थिति हुन्छ,  त्यहाँ विरुवाको प्रस्फुटन हुन्छ। विउ नष्ट भएर बिरुवा आउने भए विउ त सुकाएर पनि नष्ट गर्न सकिन्छ, डढाएर पनि तर त्यँहा पालुवा प्रस्फुटन हुँदैन। हरेक कुराको विकास गर्न पछिल्लो कुरा नष्ट गर्न पर्दैन, अस्तित्व कसैको नामेट गर्न मिल्दैन। त्यसमा चाहिने अवयवका अवास्थिथिको एकत्त्व मिलाउन सकेमा ती सबैको एकत्त्वले नयाँ रुप लिन्छ तर पुरानो नष्ट भएको होइन, एकत्त्व पछिको रुप हो। जस्तै इट्टा, ढुंगा, बालुवा, सिमेन्ट आदि नष्ट गरेर घर बन्दैन, सबैको एकत्त्वले घर बन्छ। 



सर्वैकत्त्व भवतु : 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप) 

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।