छठ पर्वको वैज्ञानिक महिमा।


नेपाल सभ्यता र संस्कृतिको धनि देश हो। मुख्य गरि नेपाली सभ्यता भनेको हिमाली भोट(बोन) सभ्यता, किराँत सभ्यता, मैथिल सभ्यता, शैव-शक्ता(हिन्दु) सभ्यता र बौद्ध सभ्यताको अनुपम र अद्वितीय अंतर्घुलन हो। आजको लेख विशेष गरि मैथिल सभ्यताबाट प्रारम्भ भएको र अहिले नेपाल भरि मनाइने चाड छठ/छट पर्वको बारेमा छ। 

अलिकति मैथिल सभ्यताबारे छोटकरीमा बुझौँ। मिथिला क्षेत्रमा रहेको प्राचिन सभ्यतालाई मैथिल सभ्यता भनेर बुझ्न सकिञ्छ। हालको नेपालको तराई र इण्डियाको केहि भूभागमा मैथिल सभ्यताको विकास भएको हो। प्राचिन मिथिला राज्यको केन्द्र नेपालको हालको जनकपुर थियो भन्नेमा कुनै दुविधा छैन। त्यसैले, नेपाल नै मैथिल सभ्यताको केन्द्र हो भन्दा अत्युक्ति पनि हुँदैन। विशेषगरी रामायण काल र उपनिषद्कालको लागि मिथिलाको महिमा सर्वविदित छ। क्वाण्टम वैज्ञानिकहरु नतमस्तक भएर ज्ञानको उच्च दस्तावेज मान्ने उपनिषद्को विकास र मूल प्रवाह हाम्रै मिथिला बाट भएको हो। अब आजको लेखको प्रसंगमा प्रवेश गरौँ। 

छठ पर्वको वैज्ञानिक महिमा। 

छठ पर्व कार्तिक महिनाको शुक्ल षष्ठी(औँशी पछिको छैठौँ दिन)मा पर्छ। लोककथा र किम्वदन्तीको आधार अनुसार छठ पर्व, छाला रोगदेखि मुक्ति र सन्तान प्राप्तिको लागि गरिने प्रचलन बनेको सुन्न पाइञ्छ। तर यसको वैज्ञानिक र आध्यात्मिक कोणमा हाम्रो लेख केन्द्रित रहेको छ। 

विशेष गरि सुर्य र जलासयमा आधारित छ, छठ पुजा। अर्थात अग्नि तत्त्व र जल तत्त्वको शुद्धिकरण हो छठ पुजा। हाम्रो शरीर मात्र नभएर सारा सृष्टि ५ तत्वले बनेको छ। पृथ्वी(खनिज),जल, वायु, अग्नि र आकाश। यी मध्ये शुद्धिकरणको लागि हाम्रो दैनिक उपभोगमा पनि प्रयोग गरिने भनेको अग्नि वा जल नै हुन्। सरसफाई गर्न पानि(जल) बिना कल्पना पनि गर्न कठिन छ। वा किटाणु र अन्य हानिकार जीवाणु मेटाउन अग्निको ताप बिना गर्न सकिने माध्यम कहिँ कतै होला पनि, तर स्वास्थ्यको प्रतिकुलतालाई पनि मध्यनजर गरेमा अग्निको महत्त्व प्रष्ट हुञ्छ। छठ त्यहि शुद्धिकरणको चाड हो। तन, मन र वचनको सुद्धिकरणको संदेश छठले बोकेको छ। 

छठ पुजाको लागि आफ्नो नजिकैको गङ्गा(नदि, खोला, पोखरी, इनार, कुवा)मा स्नान गरेर अस्ताउँदो सूर्यलाई अर्घ चढाइञ्छ। छठ पुजा ४ दिन सम्म चल्छ तर तेश्रो दिन मुख्य छठ पर्वको रूपमा प्रख्यात रहेको छ। 

पहिलो दिनमा स्नान गरि घर-आँगन सफा गरेर भगवानलाई खाना अर्पण गरेर खाना खाइञ्छ। यसले मस्तिष्कमा शान्तिको अनुभूति दिञ्छ र छठको लागि म तयार छु भनेर आफुलाई पनि प्रेरित गर्छ। छठको दोश्रो दिन निर्जला (पानि पनि नखाने) वर्त गरिञ्छ। सुर्यास्त पछि गुड हालेर बनाइएको खिर, रोटि र फलफुल खाने प्रचलन छ। 

छठको तेश्रो दिन बिहानै बाट विभिन्न परिकारका भोजन बनाइञ्छ, गाउँ ठाउँमा हर्ष र उल्लासको माहोल हुञ्छ। र सबै साँझको समय अस्ताउँदो सुर्यलाई अर्घ अर्पण गर्न आफ्नो नजिकैको गङ्गामा जाने चलन छ। गङ्गा किनारमा सबै जम्मा भएर आफ्नो ठाउँ अनुसारका लोक भाकाका गीत(भजन) गाउने गरिञ्छ। सक्नेले रात भरि गङ्गा किनारमा बस्ने र भोलि पल्ट बिहानको उदाउँदो सूर्यलाई अर्घ दिने र नसक्नेले राति घर गएर सुते पनि चौथो दिन बिहानै सुर्य नउदाउँदै गङ्गा किनारमा आएर उदाउँदो सूर्यलाई अर्घ दिए पछि छठको समापन हुञ्छ। 

यति विधि-विधान पुराएर छठ पुजा गरेमा छठी मैया(देवी) खुशी भएर सन्तान प्राप्ति, परिवारको सुरक्षा र शान्ति प्रदान गर्नु हुञ्छ भन्ने आस्था रही आएको छ। 

आस्थाको वैज्ञानिक आधार 

सुर्य भनेको धर्तिको जीवनको आधार हो। आधुनिक विज्ञानको भाषा सापट लिएर भन्नु पर्दा यो पृथ्वी आफैमा सोलार पावरमा आधारित छ। यसको सन्तुलन र अस्तित्व सुर्यमा निर्भर छ। त्यसैले, यस धर्तिको सबै प्राणको आधार सुर्य हो भन्ने वैज्ञानिक तथ्य हाम्रा पुर्खाहरुमा त्यो बेला नै बोध भै सकेको थियो भन्ने कुराको प्रतिक पनि हो छठ पुजा। 

उदाउँदो सुर्यको किरण भिटामिन डिको सर्वोत्कृष्ट स्रोत हो भनेर विज्ञानले पनि पुष्टि गरेको छ। भिटामिन डिले हाम्रो हड्डी बलियो बनाउनमा, क्याल्सियम राम्ररी मेटाबोलाइज गर्न एवं निद्राको चक्रमा प्रत्यक्ष प्रभाव राखेको हुञ्छ। बलशाली र शक्तिशाली हुन हड्डी बलियो त हुनै पर्यो। र निद्राले नै शान्तिमा प्रत्यक्ष प्रभाव राख्छ। त्यसैले मानसिक शान्तिको कामना सहित छठ पुजा गर्नु अन्धविश्वास नभएर विज्ञान सम्मत रहेको छ।

छाला चिलाउने रोगहरु फंगस(ढुशी)ले निम्त्याउने कुरा पनि आधुनिक विज्ञानले पुष्टि गरेको छ। र सुर्यको किरणले ढुशी जन्य छाला रोग निवारण गर्न सक्ने वैज्ञानिक खोजहरुले पनि सत्य सावित गरि सकेको छ। 

छठ पुजा कुनै एउटा भूगोल, सभ्यता, जात् आदिमा सिमित राख्नु विज्ञान र धर्म दुवैको विरुद्ध हुञ्छ। त्यसैले, चाहे जे सुकै धर्म, जात वा भाषिक  समुदायबाट प्रचलनमा आएतापनि सुर्यको महत्त्व बुझाउने यस छठ पर्वको सम्पूर्ण चराचार जगतलाई शुभकामना। छठी मैयाले सबैमा शान्ति, दिर्घायु, प्रजनन र सुस्वास्थ्य प्रदान गरुन्। सनातन देखि चलि आएको हाम्रो नेपाली संस्कारको महानता र वैज्ञानिकता सारा विश्वमा शंखघोष गरौँ। 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 


शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।