तपाईं भित्रको नेपाली जीवित छ भने एक पटक पढ्नु होला।।


ढुंगामा इश्वर देख्न सक्ने आँखा भएकाको संस्कृति हो नेपाली संस्कृति। "जँहा ढुंगा ढुंगामा देवताको बास छ त्यो देश मेरो हो" भन्दै, गाउँदै, रमाउँदै पाखा पहरामा स्वर्गको आभास लिने जाति हो नेपाली। नेपालको हरेक धर्म संस्कार,संस्कृति, रिति रिवाज, चाल चलन परम्परामा यो लागु हुन्छ। बिचमा कम्युनिष्ट आन्दोलनको नाममा माओवादी प्रयोग गरेर नेपालको सबै धर्म संस्कार दुषित पार्ने, मेटाउने, हटाउने, नेपालीलाई नेपालीपनबाट छुटाउने काम भयो। येति मात्र होइन, नेपालीको एकता, सहिष्णुता टुटाउने काम पनि भयो। कहिले जातिय राज्य, त कहिले पहिचान आदिको नारा उछालियो तर पहिचान भनेको केहि विदेशीको एजेन्डामा काम गर्ने नयाँ झुण्डको कुर्सी प्राप्ति हो रहेछ। माओवादी प्रयोजनको नालीबेली नामको शृंखलामा अन्य बताउने छौं। आजको लेखको मूल विषय तर्फ प्रस्थान गरौँ। 

ढुंगा कहीं देवताको स्वरूप सहितको ढुंगा पुजिन्छ त कहीं प्राकृतिक अवस्थामा रहेको ढुंगा। कहीं कल्पनामा बसेको आकार कुँदिएको ढुंगा त, कहीं कुनै पनि मानविय कल्पनाले आकार दिन नसक्ने विश्वास एवं आस्था बोकेको ढुंगा। कहीं बेनी, कहीं शिला, कहीं शालिग्राम त कहीं खुवालुङ्ग। भाषा पद्दति फरक होलान् तर सबै आस्था नेपाली नै हुन्। नेपालीहरुमा रहेको सर्वैकत्त्वको भाव बलियो हुँदा सम्म नेपाल जित्न नसक्ने बारे उपनिवेशवादीलाई राम्रो हेक्का छ। त्यसैले नेपालीको एकता फुटाउन बिभिन्न नाम, रङ्ग, मुद्दा, सिद्धान्त बोकाएर नेपालीलाई प्रयोग गर्दै छन् विदेशीहरु। झल्यास्स हेर्दा देशको बागडोर सम्हाल्ने प्राय जसो बाहुन क्षेत्री थर परेका, हिन्दु धर्म मान्ने परिवारमा जन्मिएका छन्। तर सोंच्न जरुरि छ, बाहुनले देश बर्वाद पारे वा बाहुन थर परेकाले ? अपराधीको कुनै जात हुँदैन, कुनै धर्म पनि हुँदैन। जुन नेतालाई बाहुन भनेर भनिन्छ, के तिनीहरूले बाहुन भन्ने कुनै पनि संस्कार अनुशरण गरेका छन् ? न जनै लगाउँछन्, न नै आमा-बाबा लगायत आफन्तको किरिया बस्छन्, न नुन छोड्छन् न केहि बार्छन्। मृत्यु संस्कार त डामाडोल पारेका छन्, छालाको जुत्ता सहित दागबत्ति दिन्छन्। न कुनै दैनिक पूजापाठ नै गर्छन्, न नै कुनै आस्था राखेका छन्। त्यस्तालाई बाहुन भन्न मिल्दैन, बाहुन थर परेका अपराधीहरूले देश बिगारेका हुन्। देशको जनसंख्या सबैभन्दा धेरै बाहुन क्षेत्रीकै भएकाले सबै ठाउँमा लुटेराको रुपमा ती थर परेका देखिएका हुन् तर हरेक थरबाट अपराधिहरु छन्। चुरो कुरो खोताल्ने हो भने, बाहुन थर परेका विदेशीका गुलामले देश बर्बाद पारेका हुन्। लगभग हरेक पार्टीका शिर्ष नेता विदेशीका गुलाम छन्। धेरै पर जानै पर्दैन, होलि वाइन सम्झिए पुग्छ। त्यो प्राङ्गणमा को को सरीक थिए ? सबै विदेशीका प्यादा । 

नेम्बाङ थर परेका अर्का क्रिस्चियन नेता, क्रिश्चियन धर्म लाद्ने र किराँत धर्म मास्ने मान्छे हुन्। के अब सबै किराँतीलाई किराँत धर्म नाशक भन्न सुहाउँछ ? यो दृष्टान्त लगभग हरेक जातका नेपालीको नेताले बोकेका छन्। या त पश्चिमाको गुलाम छन् या त इंडियाको। यँहा क्रिस्चियन भनेर त्यो सम्प्रदायलाई हेय, घृणा गरेको होइन। तर पहिचान भन्दै फलाक्ने नेताले आफ्नो पहिचान बोकेको छ वा मेट्दै छ ? त्यो कुरा घोत्लिएर सोच्ने कोण खुलोस् भनेर यी कुरा बताएका हौं। 

त्यस्ता दलालको प्रयोग गरेर अहिले नेपलीत्त्व, नेपालीपन, नेपाली राष्ट्रियता कम्जोर बन्दै छ। सर्वैकत्त्व, सहिष्णुता, सद्भावको साथमा काँधमा काँध मिलाएर पुर्खाले उपनिवेशवादीलाई रोकेका थिए। त्यसमा योगदान दिने किराँती, गुरुङ, मगर, थारु, शिल्पी, बाहुन, क्षेत्री, नेवार र नेपालका सबै जात जाति थिए। के महिला, के पुरुष ? सबैले आफ्नो खुनले सिंचेको भुमि हो यो देश। बलभद्र कुँवरको नालापानी युद्धमा बच्चा ढाडमा बोकेर समेत लड्न तयार थिए नेपाली आमाहरु, त्यहि आँट देखेर उपनिवेशवादीहरुले, “यो देशको प्रत्येक नागरिक लडाकु हुन्, इनिहरुसंग लड्न भन्दा आफ्नो सेनामा सामिल गराए संसार जितिन्छ”, भनेर हालसम्म पनि गोर्खा सेना भर्ती चल्छ हरेक साल। नेपालीको सर्वैकत्त्वको गाथा बुझाउन अलिकति ईतिहासको प्रसंग पनि आएछ। अब फेरी मूल विषय तिरै लागौं।

 

त्यस बेलाको हारको बदला लिन अझै पनि उपनिवेशवादी तत्पर छन्। त्यसैले कहिले माओवादीमा वित्तिय सहयोग, समर्थन गर्छन् त कहिले सबै जातिलाई सानो सानो झुण्डमा विभाजन गराउन अनेक थरिका नीति लाद्छन्। नेपालीको एकता कत्तिको कम्जोर भयो भनेर जाँच्न बेला बेलामा चलखेल पनि गर्छन्। कहिले पनौतीको शिवलिंग फ़ोड्छन त कहिले रैछाकुलेको प्रतिमा। कहिले महागुरु फाल्गुनन्दको शालिक प्रहार त कहिले बुद्धको मुर्ति लडाउँछन्। कहिले पुजारी मार्छन् त कहिले किचकवध मेला रोक्छन्। कहिले खोकनाको प्राचिन नेवा: वस्ती मेटाउने जोड तोड प्रयत्न गर्छन् त कहिले गुठि परम्परा मेटाउने कुचेष्टा। र अहिले खुवालुङ्ग फोड्ने योजना चल्दै छ।  कसरी? किन ? एक पछि अर्को नेपाली संस्कार, संस्कृति, जीवन पद्दतिमाथिको प्रहार दिनानुदिन बढ्दो छ ? यसको दोषी को ? बुझ्ने हो ? ढुंगा पुज्ने नेपालीको मुटु, भावना समेत ढुंगाको त भएन ?


यसको दोषी हामी सबै नेपाली। हामी विविधतामा एकता, सर्वैकत्त्व, सहिष्णुता, एक अर्काको अस्तित्वको सम्मान रक्षा गर्दै हाल सम्म सबैको धर्म संस्कार जिवन्त राख्दै आएको आफ्नो धरातलीय यथार्थ बिर्सेर झुण्ड झुण्डमा फुट्दै छौं। बुद्धको मुर्ति फुट्दा नाक चुच्चे जति बोल्न खोज्दैनन्, पुजारी मारिँदा नाक न्याप्टेलाई मतलव हुन्न। नेवारको वस्तीमा डोजर चल्दा अरुलाई छुन्न। यहि हो कमजोरी, यहि विभाजनको फाइदा लिग्दै छन् विदेशीहरु। 

बुद्धको मुर्ति सारा नेपालीको हो, खुवालुङ्ग सबै नेपालीको हो, फाल्गुनन्द हरेक नेपालीको हो, खोकना सम्पूर्ण नेपालीको हो, पनौतीको शिवमन्दिर प्रत्येक नेपालीको हो। नेपालको हरेक संस्कार बचाउने, सबैको अस्तित्वको रक्षा गर्ने दायित्व एक एक नेपालीको हो। सबैले सबैको लागि हातेमालो गरेर आवाज उठाऔं। तर नागरिकताको आधारले धेरै छौं नेपालीहरु, सच्चा नेपालीको कमी छ यो समाजमा आज। यहाँ बाहुन, क्षेत्री, दलित, मंगोल, हिन्दू, बौद्ध आदि नाममा विभाजन चल्दैछ तर देशले नेपाली माग्दैछ। यदि कुनै नेपालीले यो पढ्न भ्यायो भने, हामी संग जोडिनु होला।। 

 अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप) 

नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा 

सर्वैकत्त्व भवतु :


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।

२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??