राष्ट्र उत्पत्तिको विकासक्रम। नेपाल कस्तो राष्ट्र हो ?
राष्ट्र उत्पत्तिको विकासक्रम। नेपाल कस्तो राष्ट्र हो ?
कबिला-राष्ट्र, नेसन-राष्ट्र बाट सर्वैकत्त्व राष्ट्र सम्मको यात्रामा हाल संसारका सबै देश आइपुगेको अवस्था छ। यस बारे थोरै चर्चा गरौँ।
क) कबिला-राष्ट्र
आधुनिक अन्वेषकहरुले फेला पारेका मानवजाति द्वारा निर्मित औजारको मिती मापन(कार्बन डेटिङ्ग) गर्दा करीब २६ लाख वर्ष पुरानो देखिञ्छ। त्यो युगलाई नै मानवमा सामुहिक-चेतनाको विकास भएको बुझ्न सकिञ्छ। त्यस बेलाका मानव, समुहमा बस्ने, शिकार गर्ने, बनका फल-आहार संकलन गर्ने र मिलेर बाँढेर खाने एवं समुहमा नै बसेर अन्य हिंस्रक जनावरबाट बच्ने गरेको वैज्ञानिक खोजहरुको निस्कर्ष छ। त्यस्ता समूहलाई नै कविला राष्ट्र भनेर हामीले नामाकरण गरेका छौँ। अर्थात केहि मानिसका समुह एकत्रित भएर मिलेर बस्ने, मिलेर बाँडेर खाने, एक अर्काको रक्षा पनि मिलेर गर्ने।
तर सम्भाव्यताको दृष्टिबाट हेर्दा त्यस बेलाका मानव त्यति सहजै मिलेर बस्ने र बाँढेर खाने गर्थे वा मलाई धेरै, मलाई यो, मलाई त्यो भनेर झगडा, विवाद पनि गर्थे ? यसलाई हालकै मानवीय स्वभावसंग तुलना गरेर बुझ्न सहज हुञ्छ। लाखौँ वर्ष पछीको मानवमा त अझै मिलेर बस्न नसक्ने, आफुले नै राम्रो भोग उपभोग गर्न पाउने आचरण छ भने त्यो बेला पनि पक्कै यहि नै हुन पर्छ।
त्यस्तो अवस्थामा संकलन गरिएको खाना भाग लगाउँदा विवाद, झम्टा-झम्टि, लडाइ पनि पक्कै हुन्थ्यो। त्यसलाई निराकरण गर्न सोहि समुहबाट बलियो, सबैले मान्ने, सबै डराउनेले नै भाग लगाइदिने प्रचलन बसेर ती कविला राष्ट्र बाँच्दै आए। यो नै राज्यको पहिलो स्वरूप हो।
याँहाबाट बुझ्न पर्ने कुरा के छ भने। राष्ट्र संगै राज्य पनि बनेको हुञ्छ। सर्वैकत्त्व दर्शन अनुसार राष्ट्र संचालनको एक अंग हो राज्य। राष्ट्र निर्माण संगै राज्य पनि बञ्छ, एकै चोटी, एकै पलमा।अर्थात यी दुवै संगै उत्पन्न हुञ्छन्। यो पहिला वा त्यो पहिला भन्ने तर्कहरु कुखुरा र अण्डाको जस्तै रमाइलोका साधन हुन्। मानवहरु एक्लै एक्लै हिड्ने बस्ने एक अर्कासंग केहि पनि देख भेट नहुने, कुराकानी नहुने वा अरु केहि पनि आदान प्रदान नहुने अवस्था सम्म राष्ट्र वा राज्य भन्ने कुरा निर्माण हुँदैनन्। तर जब मानव समुहमा बस्न थाल्छ, सोहि समयबाट राष्ट्र र राज्य एकै पटक उत्पन्न हुञ्छ। राज्य भनेको राष्ट्रको शासन-प्रशासन, नीति, नियमन, दण्ड बारे काम गर्ने र त्याँहाका मानव-मानव बिच शान्ति, सद्भाव कायम गराउने समिति जस्तै हो भन्ने कुरा बुझ्न सकिञ्छ।
यो भयो कबिला समय, शिकार र संकलन(हन्टर-ज्ञादरर)कालमा राष्ट्र एवं राज्यको पहिलो स्वरूप बारे चर्चा। त्यस पछि मानव उद्विकास अघि बढ्दै गयो र त्यसले कबिला राष्ट्रलाई फेरेर नेसन-राष्ट्र तिर अग्रसर बनायो।
थोरै यहि यात्रालाई सम्भाव्यता अनुरुप र मानव उद्विकास अनुरुप नियाल्ने प्रयास गरौँ।
ख) नेसन राष्ट्र
कालान्तरमा कबिला-कबिला बीच पनि लडाई, झगडा हुँदै संवादको लागि भाषा पनि निर्माण भए। उनीहरुको जीवन शैली अनुसार संस्कार संस्कृति पनि निर्माण हुँदै गए। शिकार गर्ने र थुपार्ने जीवन शैलीबाट मानव कृषिमा पनि अघि बढ्न थाल्यो र शिकार भन्दा धेरै कृषिमा निर्भर भएर मानवको क्रमविकास हुँदै गयो।
कृषिको उत्पादन आफुले प्रयोग गर्ने भन्दा धेरै भएको खण्डमा एक अर्का संग साट्न पर्ने अवस्था सृजना भयो। त्यसको सहजताको लागि संवाद र भाषाको अझै विकास हुँदै गयो। यसरी निश्चित भूगोल भित्र भिन्न-भिन्न उत्पादन गर्ने एवं फरक मौसम हुने स्थानका फरक किसिमका कृषि उत्पादन गर्ने बीच साटा साटको प्रचलन बन्यो जसले भाषा अझै प्रवल रूपमा सुद्रिड हुँदै फैलिन थाल्यो। भाषा र जीवन शैलीले संस्कृति, परम्पराको विकास गर्यो र त्यसलाई दैनिक व्यवहारमा पालना गर्न पन्थ(रिलिजन) पनि निर्माण भयो। विशेषगरि पश्चिमा मुलुकमा आध्यात्म-प्रधानभन्दा पनि व्यक्ति-प्रधान चिन्तनले गर्दा नयाँ नयाँ पन्थ, भाषा, संस्कृतिको निर्माण हुँदै गए र एक अर्कामा मतभेद पनि हुन थाल्यो।
यसरी एक मात्र भाषा वा एक मात्र संस्कृति वा एक मात्र पन्थ अनुसार राष्ट्र बन्न पर्ने अवधारणा वेस्टफेलियामा सन् १६४८मा ३० वर्ष पछिको युद्धले स्थापित गरायो। र त्यहि अनुसार युरोपमा राष्ट्रको निर्माण भयो। तत्कालिन अवस्थामा युरोपको निश्चित भूभागमा कुनै एक विशिष्ट भाषा रहने परिवेश थियो, त्यसैले त्यो बेला सो सन्धिले सामाधानको मार्गप्रशस्त गर्यो। त्यसैको आधारमा नेसन-राष्ट्र भन्ने अवधारणा निर्माण भयो। जसअनुसार एकै किसिमको जात, भाषा, संस्कृति, धर्म इतिहास कुनै पनि देश भित्र वा भूगोल भित्र छ भने त्यो पनि नेसन-राष्ट्र हो भन्ने विखण्डनको बिउ पनि स्थापित भयो।
युरेपेलीहरुको आध्यात्म केन्द्रित भन्दा पनी व्यक्ति केन्द्रित पन्थलाई धर्म भन्ने चिन्तनको कारण सद्भाव, एकता भन्दा पनि निषेध प्रधान संस्कार निर्माण हुन पुग्यो। यसको आधार बाइबल वा कुरान वा टोराः मा आफु बाहेक अरुको अस्तित्व नामेट पार्ने वा अरुलाई परिवर्तन गरेर आफ्नो पन्थ अधिनस्त गर्ने आदेशमा निहित छ। यो आदेशलाई शिरोधार गरेकाले नै, एकले अर्कोलाई देख्न नसक्ने र सबै आफु जस्तो बन्न पर्ने चिन्तन सहित जिहाद, क्रुसेड र हाल एयुजेनिक्सको खेला भ्यासिनद्वारा खेलिदै छ।
यसले मानिस एकलकाटे शैलीको बन्यो र युरोपका देशमा त्यहि नेसन राष्ट्रको आधारबाट सानो सानो देश बन्दै गए र अहिले पनि ती भूगोलमा सानो देशहरु भित्र जात, भाषा, संस्कृति, धर्म आदि बहानामा अझै टुक्रिने प्रक्रियामा छन्।
यसरी टुक्रिने र सानो सानो राष्ट्र बन्दै जाने र फेरी कबिला राष्ट्र तर्फ जाने अपरिपक्व राष्ट्र हो नेसन-राष्ट्र। यसमा थोरै मिलाउने प्रयास स्वरूप बहुल राष्ट्रको अवधारणा पनि उठाएर केहि देशहरु अस्तित्वमा रहने कोशिशरत थिए तर विखण्डनको बिउले दिने त विखण्डन नै हो। फल स्वरूप, संयुक्त रुस १५ टुक्रा भयो तर याद गर्न पर्ने कुरा के छ भने त्यहि नेसन-राष्ट्रको अवधारणा अनुरुप चोइटिएका ती राष्ट्रहरुबाट विखण्डनको आधार स्थापित भयो। इन्डिया र पाकिस्तान धर्मको आधारमा टुक्रियो, पाकिस्तान र बङ्गलादेश भाषाको आधारमा टुक्रियो, एक दशक अघि मात्र सुडान धर्मको आधारमा टुक्रियो। बलोच जाति पाकिस्तान, अफगानिस्तान र इरानमा छन् उनीहरु टुक्रिएर बलोचिस्तान भन्ने देश बनाउने उद्देस्य लिएर अघि बढ्दै छन्। त्यस्तै कुर्दिस्तान टुक्रिन खोज्दै छ। इन्डियामा पनि सात तिर बाट विभाजन चल्दैछ। राष्ट्र निर्माणको यो परिभाषालाई बचाइराख्ने प्रयासमा युरोपमा टुक्रिने क्रम जारी नै छ।
चेकेस्लोभाकिया २ टुक्रा भयो, सर्भिया र अल्बेनियाबाट कोसोभो भन्ने अर्को देश बन्यो। विभिन्न देशहरु अझै फुट्ने र २-३ चिरा हुने प्रक्रिया भने रोकिएको छैन।
नेसन-राष्ट्रको अवधारणाले केहि समय युरोपमा राम्रै फस्टाए पनि अहिले त्यो विखण्डनको बिउ बाहेक अरु केहि होइन। नेसन-राष्ट्रलाई हाम्रो सभ्यता संस्कार र जनबोलीमा जाति, सम्प्रदाय, समुह भनिञ्छ। ढुंगे युगमा एक कबिलाले अर्को कबिलालाई नरुचाउने र आफ्नो-आफ्नो कबिलालाई राष्ट्र भन्ने/मान्ने अवस्था भन्दा नेसन-राष्ट्र माथि छैन भन्ने कुरा माथिका उदारहण, व्याख्या र हालको टुक्रिने निहुमा चलि रहेका आन्दोलनहरुले पुष्टि गर्छ । नेसन-राष्ट्र एकलकाटे, इण्डिभिजुआलिज्म संस्कारको उपज हो।
सर्वैकत्त्व-राष्ट्र
सर्वैकत्त्व-राष्ट्र भनेको नेसन-राष्ट्र बाट माथि उठेको चिन्तनको विकासक्रम हो। जब सम्म एक जातिय, एक सांस्कृतिक, एक भाषीय समुदाय मात्र कुनै पनि देश भित्र हुञ्छन्, तब सम्म त्यो नेसन-राष्ट्र नै रहञ्छ। तर जब विविधतायुक्त समुदायहरुको अन्तरघुलन सुरु हुञ्छ तब नेसन राष्ट्र भन्ने अवधारणामा चलेका राष्ट्रहरु घृणा, द्वेष, क्लेश र विखण्डन तिर अग्रसर हुने कुरा सिद्ध भै सकेको छ।
हाम्रो सभ्यता धेरै अघिदेखि विविधतायुक्त रही आएको छ। बहुभाषा, बहुसंस्कृति, बहुजातिले विभुषित हाम्रो देश नेपालमा सर्वैकत्त्व राष्ट्र नयाँ कुरा पनि होइन। भौतिक उन्नति/विकासको मापन गर्दा युरेपेली देशहरु हाम्रो तुलनामा धेरै अगाडी भएता पनि, सामाजिक अन्तरघुलन, राष्ट्रिय चिन्तन अर्थात मानसिक र आध्यात्मिक आयामका अवधारणा अनुरुप उनीहरु बल्ल हाम्रो हैसियतमा आउँदै छन्। एकलकाटे समाजबाट समहुगत समाजमा उनीहरुलाई आउन धेरै समय लाग्यो। एक किसिमको मात्र माञ्छे देख्ने र त्यो बाहेक अरुलाई मान्छे नगन्ने, नमान्ने, दास बनाउने ईतिहासले यसको पुष्टि गर्छ। केहि दशक अघि सम्म रङ्गको आधारमा गरिने विवेध, लिङ्गको आधारमा नारीलाई मतदानको अधिकार नदिएको घटनाहरु युरोप र अमेरिकाको ईतिहासमा नै उल्लेख गरिएको छ।
नेसन राष्ट्रबाट सर्वैकत्त्व राष्ट्रको यात्रामा अघि बढ्न सबै जात जाति, भाषाभाषिकालाई समान नजरले देख्न जरुरी हुञ्छ। विवेध र निषेध त्याग्न पर्ने हुञ्छ। सबैलाई आफु जस्तै मान्ने, सबै एकै हुन्। कोहि ठुलो कोहि सानो होइन, मेरो भाव र अरुको भाव पनि उस्तै हो। मेरो भाषा, मेरो संस्कार, संस्कृति जस्तै अरुको पनि मौलाउन पाउँछ। कसैले कसैलाई नामेट पार्ने, मेटाउने, आफु जस्तो बन्न पर्ने नत्र सिद्ध्याउने प्राचिन कबिलाकालको चिन्तन राखेमा त्यो सर्वैकत्त्व राष्ट्र बन्न सक्दैन। धेरैमा नेसन राष्ट्र सम्म बन्न सक्छ।
राष्ट्र गुरु योगी नरहरिनाथले आजभन्दा ३५ वर्ष अघि नवलपरासीको त्रिवेणीमा आयोजना गरिएको कोटिहोममा राष्ट्रको व्याख्या गरि सक्नु भएको छ।
“राष्ट्र भनेको ढुङ्गा माटो मात्र होइन। राष्ट्र भनेको समस्त जनता र तिनले अंगालेका संस्कार-संस्कृति एवं भूगोल हुन्। राज्य भनेको राष्ट्रलाई नितिवद्ध रूपमा संचालन गर्ने संयन्त्र हो। इसाई फिरङ्गीले एकजात विशेषलाई राष्ट्र भन्ने गर्दा रहेछन्।
राष्ट्र र देश भनेको एउटै कुरा हो।”
२०४७ सालको संविधानले पनि नेपाल राष्ट्रको परिभाषा निम्नानुसार राखेको थियो।
राष्ट्र : जुनसुकै धर्म, वर्ण, जात वा जातिका भए पनि समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डताप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टि रूपमा एक राष्ट्र हो।
नेपालको संविधान २०७२मा पनि नेपाल सर्वैकत्त्व राष्ट्र रहे अनुरुपको नै परिभाषा छ।
राष्ट्र : बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।
यसरी
भूराजनीतिक, भूसांस्कृतिक, सार्वभौम एकाई जसमा शासन प्रशासन, नीति नियमनको लागि एकत्त्वको मनोविज्ञान सहित राष्ट्रको विधि पद्दतिको नियमन गर्न राज्य भन्ने अङ्ग बनेको हुञ्छ। सर्वैकत्त्व राष्ट्रमा प्रत्येक जनलाई राष्ट्रप्रेमले एकत्त्वको मनोविज्ञानद्वारा जोडेको हुञ्छ । सबै विविधता मौलाउन पाउँछ, एकले अर्काको सम्मान गरिञ्छ र कसैलाई परिवर्तन गर्दै अरुको अस्तित्व मेटाउने कुचेष्टा गरिन्न, सबै किसिमको भाषा, संस्कार, संस्कृतिलाई संरक्षण, सम्वर्द्धन गरिञ्छ त्यो नै सर्वैकत्त्व राष्ट्र हो। र राष्ट्रको यस अवधारणालाई कार्यन्वयन गराउने निकाय, व्यवस्था, प्रणालीलाई राज्य भनिञ्छ।
राज्य भनेको व्यवस्था हो। राष्ट्र स्थिर नरहे सम्म राज्य स्थिर हुँदैन। र सर्वैकत्त्व राष्ट्रमात्र स्थिरताको पर्याय हो। र नेपाल सर्वैकत्त्व राष्ट्र थियो र रहने छ। राष्ट्रको यो मान्यता अनुरुप चल्ने राज्य छ भने त्यो नै सर्वैकत्त्व राज्य हो र सर्वैकत्त्व दर्शनको मान्यतामा चल्ने अवस्थामा राष्ट्र भने पनि राज्य भने पनि देश भने पनि एकै हुन्, यी सबैले एक अर्कालाई बुझाउँछन्।
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment