तिम्रो घिनलाग्दो पढाउने शैली।

 




 


विद्यालयको हालत 

शिक्षा बाट नै विचार प्राप्त हुन्छ, दृष्टिकोण निर्माण हुन्छ र यसैले चेतनाको स्तर निर्धारण गर्छ। यी कुरा ख्याल नराखेमा त्यो शिक्षा हानिकारक सिद्ध हुन सक्छ। शिक्षाको बिषय वस्तु उचित वा अनुचित भनेर देशको नतिजाले दर्शाउँछ।  अहिले देशको अवस्था नियाल्ले हो भने यो कुरा सत्य छ अहिलेको शिक्षा पतित अवस्थामा छ। जति पढ्यो उति तुच्छ मानव निर्मित गर्दै छ हालको शिक्षाले। पढे लेखेको मानिस थुप्रिने ठाउँ काठमाडौँ देशको सबै भन्दा दुषित ठाउँ बनेको छ।  पढे लेखेकोले प्रतिस्पर्धा गरेर नाम निकालेर जागिर खाने ठाउँ लोकसेवा, निजामति र प्रशासन सबै भन्दा भ्रष्ट ठाउँ बनेको छ। हाम्रो शिक्षा सुचनामा मात्र सिमित छ, नामका विद्यालय छन् तर वास्तवमा चोर, ठग र भेडा उत्पादन गर्ने कारखाना हुन् नेपालका विद्यालय, कलेज र क्याम्पस। चिट चोरेर पास हुन त्यहि विद्यालयले सिकाउँछ। त्यत्रो पैसा तिरेर छोराछोरी लाई चोर बनाउने तालिममा पठाउने अविभावकको मति देख्दा पनि दया लाग्छ।  कसले कति खर्च गरेर आफ्नो छोरा छोरीलाई ठुलो चोर बनाउने भन्ने होड चलेको छ नेपालमा। त्यो बालकको व्यवहारमा सकारात्मकता ल्याउन सकेको छ छैन यसमा कुनै विद्यालयको चाँसो छैन, केवल महिनावारी शुल्क समयमा आयो आएन यसमा नै सम्पूर्ण ध्यान केन्द्रित छ। विद्यालय खोलेर पैसा लुट्ने नियत पालेकालाई सुझाव, "बरु पान पसल खोल्नु, भट्टी खोल्नु पैसा कमाउन किन कसैको जिन्दगि डामाडोल गरेर पैसा लुट्ने ?" तिम्रो विद्यालय पढेर कसैको छोरा छोरी अटेरी, सम्बेधनाहिन, कर्तब्यहिन, र देह खोक्रो पार्ने भ्रष्टाचारी बन्छ भने तिमी आफै फेल छौ, के परिक्षाको नाटक गरेर अरुलाई फेल घोषित गर्छौ ? कुनै अविभावकले समयमा शुल्क बुझाउन न सके त्यो अवोध बालकलाई अगाडी ल्याएर सबैको सामु समयमा शुल्क न बुझाउने भनेर बेइज्जत गर्छौ, थुक्क तिम्रो जुनी।  तिम्रो येही हर्कतले त्यो बच्चाको मनोविज्ञान दुषित गर्छ। उसको चिन्तनमा के बन्छ ? थाहा छ ? इज्जत बेइज्जत नो मतलव एनी हाउ पैसा कमाउ। यो सोंच हावी गराउँछ तिम्रो त्यो कर्तुतले। अनि त्यहि बच्चा स्कुल आउन लाज मान्छ।  उस्तै परे नशा रोज्छ, स्कुल छोड्छ र टोले गुण्डा बन्छ। पढाइको नाममा सडाइ चलेको छ, यँहा।

हरेक बर्ष नयाँ भर्ना खुल्यो भनेर नम्बर धेरै ल्याएकाको तस्बीर टाँसेर नाटक गर्छौ। तिम्रो आँट जोख्न मन लाग्यो, सक्छौ भने तिम्रो स्कुलमा कुनै समय पढेका अहिले गुण्डा बनेकाको तस्बीर टाँस।  छ दम ? हुति छ।  छैन, किन कि तिमी हुतिहारा हो। एक चोटी याद गर कतिको जीवन बर्बाद गरेको छ तिम्रो त्यो लोभले लिप्त दुषित मानसिकताले। 


शिक्षण संस्थाका संगठनहरु सिधै भाषामा भन्नुपर्दा महाठगहरुको झुण्ड। यिनीहरूको उद्देश्य शिक्षाको गुणस्तर बढाउनु भन्दा पनि लुट्ने/ठगि गर्ने हो। विशेषगरी पुस्तक प्रकाशकहरुसँग प्रति पुस्तक पाँच रुपैंया कमिसनमा देशको भविष्य डामाडोल गर्ने इनिहरुमा हुन्छ। जतिपनि आवासीय/गैरआवासीय निजी शिक्षण संस्थाहरूको संगठन छन् सबैको उद्देश्य यही नै हो। उदाहरणको लागि हजुरको दुइ छोराछोरी छन्, एउटा ९ मा अर्को १० मा अध्ययनरत छन् भने १० बाट पास भएर जानेको पुस्तक अर्को साल ९ बाट १० मा आउने सँग मिल्दैन, नयाँ खरिद गर्नु पर्छ। यो फेर्नु को एक मात्र उद्देश्य प्रत्येक पुस्तकमा पाँच रुपैंया खानको लागी हो। यिनीहरुले कहिल्यै पनि शिक्षण संस्थाले राम्रो नैतिकवान, निष्ठावान, इमान्दार, देशप्रेमी आदि देशको आवश्यकता अनुसार जिम्मेवारी वहन गर्न सक्ने व्यक्तित्व पैदा गर्न सकेन भन्ने चासो/चिन्ता राख्दैनन्। मतिभ्रष्टहरूको चेत यो कोणबाट खुल्दैन, न नै इनको  दिमागले यो आयामबाट सोच्न सक्छ। यस्ता संस्थाहरुले एकताबद्ध भएर गतिलो पाठ्यक्रम बनाउनको लागि सरकारलाई दबाब दिन सक्नुपर्छ। राष्ट्र निर्माणमा योगदान गर्नसक्ने मानवस्रोत हासिल हुने बारे कार्यक्रम, छलफल, बहस, मन्थन गरेर  निकाले ठोस निष्कर्ष निकालेर सरकारलाई दबाब दिन सक्नुपर्छ।  या त  पाठ्यक्रम गतिलो बनाउ होइन भने हामि विद्यालयको पठन पाठन केहि समय स्थगित गर्छौं।  हाम्रो विद्यालय बाट देश खोक्रो पार्ने मान्छे न बनोस, राम्रो मान्छे निर्माण गर्न सकियोस भन्ने मुल्यमा अडान लिन सक्नुपर्छ। तर ठग्न पाइएको छ, त्यहि सरकारमै रहेका पार्टीहरूको खुट्टा चाटेर नै त्यस्ता शैक्षिक संगठनको उच्च पदमा बस्ने माहोल छ। यस्ता संगठनहरु भनेको कलंक हुन्। या त मति सुधार्नु या देश डुबाउनु निर्णय आफै गर्नु। 



अभिभावक अभिभावकत्वमा पनि धेरै कुरा सुधार हुन जरुरी छ। जस्तो अभिभावक उस्तै बालबच्चा। बाल बच्चाले सबैभन्दा धेरै कुरा सिक्ने भनेको अभिभावक संग हो। विद्यालयले त माशिक शुल्क लिने मात्र हो, विद्यार्थीको आनिबानी, आचरण, व्यवहार, कर्तब्य, दायित्ववहन  प्रति विद्यालयको चासो छैन। यसबारेमा अभिभावकले विद्यालयलाई दबाब दिन सक्नुपर्छ, सम्झाउन पर्छ, प्रश्न गर्न सक्नुपर्छ। हरेकवर्ष नयाँ भर्ना भनेर,"हाम्रो विद्यालयमा बालबच्चा ल्याउनुस्", भन्दै माग्न आउँछन्। उनीहरुलाई प्रश्न गर्नुस्, के तपाईंको विद्यालयमा पढे पछि मेरो बच्चाको बानी राम्रो हुन्छ? अटेरी बाट ज्ञानी बन्छ? सही र गलत छुट्याउन सक्छ ? निष्ठावान बन्छ वा देश खोक्रो पार्ने दलाल बन्छ ? वा देशलाई चाहिने इमान्दार देशभक्त मान्छे बन्छ ?  यी कुरा सोच्न जरुरी छ। अभिभावकले पनि आफ्नो बालबालिका कस्तो बन्ने भन्ने कुरामा करिब ३० प्रतिशत भूमिका राखेका हुन्छन्। विद्यालयले पनि ३० प्रतिशत नै राखेको हुन्छ भने त्यो बालक स्वयंले ४०% राखेको हुन्छ। अभिभावकले पनि आफूले गर्नपर्ने प्रयत्न र कर्तव्य अनुरुप जिम्मेवारी वहन गर्नु पर्छ। त्यसैले अबको शिक्षा त्रिकोणात्मक शैलीमा अगाडि बढ्नुपर्छ।  विद्यालय, विद्यार्थी र अभिभावकको भुमिका उत्तिकै महत्वपूर्ण हुन्छ। शिक्षाले नै देशमा कस्तो मानसिकता हावी रहने भन्ने कुराको निर्धारण गर्छ। अबको १५ वर्षपछि देश कस्तो हुने ? यो कुरा आज तपाईहरुले गरेको प्रयत्नले निर्धारित गर्छ। विचार गर्नुहोला। सहयोग चाहिएमा सम्पर्क गर्नुहोला।  हामी सकेको योगदान दिन तयार छौं।  के तपाईं परिवर्तनको लागि तयार हुनुहुन्छ ? 

शिक्षा विकारे सकलो विकारः । शिक्षा सुधार सकलः सुधारः 


सजाय पनिस्मेंट(तिम्रो रीस पोख्ने बाहना)

तिम्रो श्रीमान/श्रीमती/शासु र अन्यले दिएको तनाव मुक्त गर्ने भाँडो होइनन् ती बाल बालिका। तिम्रो कक्षामा बस्न अल्छी मान्ने बनाएको तिमी स्वयम्ले हो। तिमीलाई पढाउन आउँदैन, हामीले सिकाउने छौं। पहिला तिम्रो ऐना देखाउने चेष्टा गर्दै छौं। राष्ट्रघाती तत्व निर्माण गर्दैछ, अहिलेको शिक्षाले। जतिपनि राष्ट्रघातीहरु छन् ती सबै पढे-लेखेर, दरिद्र चिन्तन भरेर, देशद्रोही बन्न योग्य बनाइएका छन्। जति पनि देशद्रोही को भीड छ त्यो सबै यही शिक्षाले नै उत्पन्न गरेको हो। किन यहाँ नयाँनयाँ भर्ना खुल्यो भन्दै विज्ञापन गरिन्छ`? सिधै मान्छे दिनुस् केही वर्षमा भेडा बनाइदिन्छौं भनेर यथार्थ बोल्न सुरु गर्न सक्नुपर्छ अथवा आफ्नो प्रणाली फ्याँक्न सक्नुपर्छ, नयाँ तरिकाले पढाउन सुरु गर्न सक्नुपर्छ।  कतिको छ तिमीसँग आत्मसम्मान? के हुँदो हो ? अन्तरात्माले पनि धिक्कार छ तिमीलाई, त्यसैले दिनभरी विद्यार्थिलाई जे जति घोकाए पनि, साँझमा अलिकति रक्सी नखाई सुत्न गाह्रो छ तिमीलाई। यहि तिम्रो यथार्थ हो। 


तिम्रो घिनलाग्दो पढाउने शैली। 

धेरै नम्बर ल्याउने प्रतिस्पर्धा नै सबैभन्दा ठूलो समस्या हो। यसले आफु अघि आउन अरुलाई जतिसुकै निचरे पनि हुन्छ, जतिसुकै धोकाधडी गरेपनि हुन्छ भन्ने विचारधारा निर्माण गर्छ। प्रतिस्पर्धा हुन पर्छ तर अरु सँग होइन आफ्नै बिगत सँग। हिजोको भन्दा आज को म उत्कृष्ट हुन्छु, अरुसँग मेरो तुलना छैन। यो कुरा निर्माण गर्न जरुरी हुन्छ।अहिलेको प्रतिस्पर्धाले एक अर्का संग तुलना गर्ने र आफूलाई दुःखी बनाउने अवस्था निम्त्याइरहेको छ।  छिमेकी संग तुलना गर्ने आफ्नो छोराछोरीको भविष्य उसको रुचि, उसको दक्षतालाई  बेवास्ता गरेर, लात हानेर,  छिमेकीको छोराले जे गर्छ त्यसमा नै आफ्नो छोरा अगाडि(अब्बल) आउनुपर्ने  धृष्ट प्रतिस्पर्धा चलिरहेको छ।  छिमेकीको छोरीको विवाहमा यति सुन, मेरोमा त्यतिनै सुन वा ऋण काडेर, ठगेर उसको भन्दा अझै धेरै सुन देखाउने रोग लागेको छ समाजका पढे लेखेका गँवारहरु लाई।  छिमेकीले आफ्नो बाल बच्चाको स्कुलमा लाखौँ तिर्छन्, मा करोड तिर्छु।  छिमेकीले कुकुर पाल्यो मलाई पनि चाहियो, छिमेकीले कार किन्यो, ऋण गरेर भए पनि मलाई चाहियो। यावत उदाहरणहरु छन् जुन कुहिएको शिक्षाले दिएको मानसिकताको उपज हो। घाँटी हेरी हाड निल्नु भन्ने हाम्रो प्राचीन विचार पुनः मूलप्रवाहीकरण हुन जरुरी छ। देशमा भ्रष्टाचार बढ्नुको कारणमध्ये धृष्ट प्रतिस्पर्धा प्रमुख मध्येको एक हो। यसको बिउ अङ्क प्रणालीमा छ। चोरेर, छल गरेर भए पनि अङ्क धेरै ल्याए त्यो मान्छे उत्कृष्ट मान्दिने रोग छ शिक्षकहरुमा। त्यो अङ्क ल्याउनेको बानि, व्यवहार, घरमा देखाउने पारा, साथि भाई संग गर्ने हर्कत, सडकमा दिने चुरीफुरी त के मतलब। राम्रो मान्छे बनाउनको लागि खुले विद्यालय भए पो यी कुरा सोच्ने, ठग्नको लागि खोलेको ठग नै निर्माण गर्छ। 

अङ्कको मापदण्ड खारेज गर्न सक्नुपर्छ। कस्तो व्यबहार,विचार र मानसिकता देशको आवश्यकता हो त्यो कुरालाई सम्बोधन गर्ने शिक्षा पाठ्यक्रम निर्माण हुन जरुरी छ। अफिसको कामकाज र कम्पनीको कामदारको आवश्यकता के हो ? त्यति मात्रै हाम्रो अहिलेको शिक्षाको प्रतिमान बनेको छ।  त्यसैले ब्रेन ड्रेन (पढेलेखेका देशमा टिक्दै टिक्दैनन्, बस्नै चाहन्नन्) चल्दै छ। अरुलाई अठ्ठाउने, निमोठ्ने मात्र माथि आउँछ। दया, करुणा, इमान्दार, सज्जन, नैतिक, अनुशासित सबै पछाडी पर्छन्। घीनलाग्दो प्रतिस्पर्धामा भाग लिन नचाहनेलाई समाजले हेयको दृष्टिले हेर्छ । यो कुरा समाजले कहिले सिक्ने ? ठग्न पल्केका, भेडा उत्पादन गर्ने विद्यालयले कहिले सिकाउने ? र कसले अङ्गाल्ने ?  अहिलेको शिक्षाले! जुन आफैंमा फेल भइसकेको छ, त्यसले अरुलाई पास फेल भनेर जोखाना गर्ने हैसियत राख्दैन। यहि रोगी प्रतिस्पर्धामा सबै भन्दा अब्बल ठहर भएका पीएचडी पढेका डुकुहरुले नै निर्माण गरेको शिक्षानीति, पाठ्यक्रमले देशमा के दिइरहेको छ ? के निम्त्याइरहेको छ ? खोजौं ! प्रशं गरौँ ! सहयोग चाहिएमा सोधौं।  हामी विचार दिन्छौं, योजना, नीति दिन्छौं।  के तपाइँ परिवर्तनको लागी तयार हुनु हुन्छ ??



हाम्रो अवधारणा 

भौतिक सुख, मानसिक शान्ति एवं आध्यात्मिक उन्नति त्रिपक्षीय शिक्षा प्रणाली नै अबको शिक्षा पद्दति हुन पर्छ। समाज राष्ट्र देश परिवार व्यक्ति र विश्व र प्रकृतिको सम्पूर्ण अवयवको सर्वांगीण विकास तादात्म्यता परस्परतामा अनुरूप शिक्षालाई अगाडि लिएर बढ्नु पर्छ। 

शिक्षा जस्तो हुन्छ, त्यो शिक्षा लिएको मान्छेको ईच्छा उस्तै बन्छ। जस्तो समाज, राष्ट्र बनोस् भन्ने चाहनुहुन्छ सोहि अनुसारको शिक्षा जरुरि हुन्छ। जुन सूचनाहरुले सकारात्मक इच्छा, विचार निर्माण गर्न सहयोग गर्छ, त्यो नै वास्तवमा शिक्षा हो।  र जब यी सबै सकारात्मक इच्छा वोध भएर व्यवहारमा उत्रन्छन्  त्यसलाई विद्या भनिन्छ। वोध भएको सुचना, शिक्षा नै विद्या हो। नयाँ किसिमको प्रतिस्पर्धाको आवश्यकता छ। दया र करुणा जसमा ज्यादा छ उनै उत्कृष्ट हेन मापदण्ड निर्धारण गर्नु पर्छ। सुगा रटाइ लाई नै ज्ञानी, सर्वश्रेष्ठ भन्ने प्रतिमान हटाउन जरुरी छ। सूचनाको लागि अहिले टाउकोमा बोझ भर्नु पर्दैन। अहिले सूचना प्रविधिको युग हो एउटा क्लिकको भरमा चाहेको विषय बारे जानकारी पाइन्छ तर नैतिकता दया करुणा भएको मानिस लोप भइसकेको अवस्था छ। दरिद्र सोच, संकीर्ण चिन्तन भएको मानिस समाज, देश र मानवताको शत्रु हो। अहिलेको लोकसेवा हेर्नु, प्रशासन हेर्नु एकाध अपवाद होलान् तर प्राय सबै चोर ठग छन्।  एउटा गुण्डा, खाते र पढे लेखेको जागिरेको मानसिकता नै आज कसलाई लुट्न सकिएका, ठग्न सकिएला भन्ने कुरामा चल्छ। के पढे लेखेको भन्ने त्यस्ता टट्टुलाई। शिक्षाको उद्देश्य त्यस्तो जनशक्ति, मानिस निर्माण गर्ने हुनुपर्छ जो आत्मनिर्भर होउस्, माटोबाट खाना उत्पन्न गर्न सकोस्, औजार यन्त्रहरु निर्माण गर्न सकोस्, अरुलाई प्रतिस्पर्धी, प्रतिद्वन्दी होइन आफ्नो सोंच्न सकोस्।  खोस्न होइन दिन चाहने बनोस्, इमान्दार, निष्ठा, नैतिकतामा अडिक रहोस्, समाजको राष्ट्रको सामूहिक हितमा काम गर्न सकोस्। देशप्रेमले ओतप्रोत भएको चिन्तन होउस्। सुचना थुपार्न भन्दा ज्यादा जिउन सिकोस्, जीवन बुझोस्। 


रुचि अनुसारको शिक्षा हुन जरुरी छ। साक्षरता रहने दैनिक कामकाजको लागि चाहिने ज्ञान प्राप्त सबैले अनिवार्य गर्ने। जसलाई पढ्न रुचि छ उसले उच्चशिक्षा पनि लियोस् , जसलाई अरु केहि गर्न इच्छा छ उसको त्यही रुचि नै जीविकाको आधार बनोस्। संगीत बजाउने संगीत बजाएको भरमा जिउन पाओस्।  कला कौशल, खेलकुद र अन्य बिदामा अगाडी आउन खोज्नेले त्यसैबाट जीविकोपार्जन गर्न सकोस्। नयाँनयाँ चिजहरु निर्माण गर्न जान्ने/रुचि राख्नेलाई सोहि सम्बन्धी तालिम दिलाएर औजार, उपकरण, यन्त्र हरु निर्माण गर्ने वातावरण पाओस्। जसलाई यीमध्ये केही पनि गर्न मन छैन वा जान्दैन उसले श्रम गरोस्। अन्नपात उत्पादन गरोस्, तर उसलाई कसैले पनि हेयको दृष्टिले नहेरोस्।  किनकि उसले नै सबैको जीवन बचाउने हो भन्ने तथ्यको सबैलाई चेत रहोस्। समयको हिसाबले श्रमको मूल्य निर्धारण होउस्। चाहे त्यो डाक्टर होउस् या किसान, प्रति घण्टाको श्रम, पारिश्रमिक उत्ति नै  पाओस। सम्मान उत्तिकै होउस्। यो नै अबको नीति बनोस्। 






शिक्षा नितिहरु

-शिक्षाको लागि आवश्यक सम्पूर्ण सामाग्री, पठनपाठन सम्बन्धि हरेक अवयव निःशुल्क उपलब्ध गराइनु पर्छ। यसबापत हरेक नागरिकले उच्चशिक्षा सकिए पश्चात राष्ट्रको लागि ३ वर्षसम्म निःशुल्क सेवा प्रदान गर्नु पर्छ, जसमा खाने र बस्ने व्यवस्था राज्यले नै गराउनेछ। 

-निम्न शैलीमा पठनपाठन व्यवस्था मिलाउन पर्छ।  साधारण शिक्षा general education जसमा दिनानुदिनका व्यवहार परि पाटोलाई सम्बोधन गर्न चाहिने, समाजमा चल्नको निम्ति अत्यावश्यक व्यवहारमा कोहि पनि पछि न परोस् भन्ने सुनिस्चितता रहने गरि सामग्रीहरु समावेश हुन्छ।  

-एसइइ, १२ र उच्च शिक्षाको बार्षिक परिक्षा पछि हुने बिदामा समाज, राष्ट्र प्रति आफ्नो दायित्ववहन गराउने हेतुले सो सम्बन्धित प्रोजेक्ट गर्नु पर्ने। सेवा, प्रकृति वातावरण, फोहोर व्यवस्थापन आदि गरेर प्रतिवेदन लेख्न पर्ने किसिमको अंक सहित मापदण्ड राखिनु पर्छ।

-कलाकौशल,शिप, शिल्प,खेलकुद र रुचिअनुसारको शिक्षा यसको उद्देश्य राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका कलाकौशल, शिप, शिल्पमा निपूर्ण, खेलकुदमा अब्बल हुन सक्ने व्यक्तित्व निर्माण गरिन्छ। ११ वर्षको उमेरमा यहाँ साधारण क्षेत्रबाट विद्यार्थीहरु रोजेर ल्याइन्छ। 

-तेस्रो हुन्छ निर्माण, नवाचार, प्रविधि सम्बन्धी नयाँ यन्त्र आविष्कार निर्माण गर्न यो शैलीको शिक्षा हुन्छ । यसमा engineering विज्ञान प्रविधि र बजारको आवश्यकता अनुसारको मागलाई सहज गर्ने विधि, साधन उत्पादन गरिन्छ।  

-बुद्धिजीवी, चिन्तक, विचारक, निती निर्माता देशको लागि एकदम महत्त्वपूर्ण हुन्छन्। यो क्षेत्रबाट पनि मानवस्रोत परिपूर्ति गर्न यी कुराहरुलाई मध्येनजर गरेर रुचि अनुसार विज्ञ हुनेगरी शिक्षाको अवधारणा अघि बढाइन्छ। 

-भाषा र संस्कृति प्रत्येक जातजातिका विद्यार्थीले आफ्नो मातृभाषा जान्नै पर्छ। आफ्नो संस्कृति अनुसारको कुलधर्म परम्परा अनुरुपका अनुष्ठान विधि अनुसारको क्रियाहरू गरि मूल धर्म संरक्षण गर्ने,पारम्परिक कला शिल्प, पुस्ता हस्तान्तरण हुने बनाइन्छ।  हाल चलेको पहिचानको रोइलोको असली सम्बोधन र सबैको संरक्षण सर्वैकत्त्व दर्शनको मूल आसय स्मरण रहोस्। 

-राष्ट्रमा कस्तो किसिमको व्यवहार, नैतिकता, निष्ठा, इमानदार र राष्ट्रिय मूल्य मान्यता के हुने ? कस्तो रहने ? त्यसको पनि ठुलो योगदान हुन्छ।  देशप्रेम, संस्कृतिको संरक्षण, अरुको सम्मान, सर्व अस्तित्व सम्मानमको नैतिकता सम्बन्धी बानी व्यवहार र आचरणको उत्क्रिष्टिटता मापन बिदा रहने गरि निर्धारण गरिने छ।  

-अभिभावकत्व सम्बन्धी पनि अभिभावकहरूलाई तालिम प्रदान गराउनुपर्छ। 

-मान्छेको सबै भन्दा ठूलो गहना नै कौतुहलता, जिज्ञासा, उत्सुकता हो। यसलाई उच्च राख्न सधै प्रेरणा दिइनेछ। कौतुहलता ले नै सबैकुराको निर्धारण गर्छ, निर्माण गर्छ र मानव समाजको निरन्तर विकास गराउन प्रेरणा दिन्छ, आधार प्रदान गर्छ। समाजको, राष्ट्रको आवश्यकता के भन्ने कुरामा अनुसन्धान गरी निष्कर्षमा पुगाउने एक मात्र कडी जिज्ञासा हो। कौतुहलतालाई उच्च राख्ने किसिमले पाठ्यक्रम निर्माण गरिनेछ।

नेपाल आमाको जय। 

जागुन् राष्ट्रिय गाथा।। 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)





Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।